सुचना, समाचार र मनोरन्जन

बालेन शाह नेतृत्वको सरकारप्रति ‘नरम’ देखिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ,

पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालनको गतिविधिमा युवा पुस्ताको बढ्दो संलग्नताप्रति सकारात्मक सुनिएका छन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति निकै आक्रामक देखिने गरेका पूर्वराजा यस पटक भने बालेन शाह नेतृत्वको सरकार र नयाँ पुस्ताको उदयप्रति नरम र आशावादी सुनिएका हुन् ।

सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियोमार्फत शुभकामना सन्देश दिएका शाहले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई ‘उत्साहको विषय’ भन्दै यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन् । ‘पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

विगतका राजनीतिक परिवर्तनहरू केबल सतहु मात्र भएको र दलीय खिचातानीले गर्दा देश प्रयोगशाला मात्र बनेको टिप्पणी उनले गर्ने गरेका थिए । तर, वर्तमान सन्दर्भमा युवाहरूको नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गर्दै उनले नयाँ सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिएका छन्।

पूर्वराजाले आर्थिक अवस्थालाई उकास्न, छिमेकी र बाह्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन र आन्तरिक सुरक्षा व्यवस्थालाई चुस्त राख्न नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। उनले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वराजाले आपसी रिसराग र प्रतिशोधको राजनीति त्यागेर जनचाहना अनुसार अघि बढ्न आग्रह समेत गरेका छन् । युवा पुस्ताप्रति आशावादी देखिएका उनले सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अभिलाषा व्यक्त गर्दै देशको मौलिक पहिचान जोगाउनु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.