पोखरा,
अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड BAIC र ARCFOX ले पोखराको अमरसिंह चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएका छन्। लक्ष्मी मोटर हबको नेतृत्वमा सञ्चालनमा आएको सोरुमको औपचारिक उद्घाटनसँगै पोखरा तथा गण्डकी प्रदेशका ग्राहकले यी ब्रान्डका आधुनिक सवारी साधन सहजै अवलोकन तथा खरिद गर्न सक्ने भएका छन्।
नेपालमा BAIC र ARCFOX का आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबले नयाँ सोरुममार्फत अन्तर्राष्ट्रिय प्रविधियुक्त पेट्रोल, हाइब्रिड तथा विद्युतीय सवारी साधन ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको छ।
सोरुममा BAIC को हाइब्रिड एसयूभी BJ30e र ARCFOX को पूर्ण विद्युतीय मोडल T1 उपलब्ध छन्। १ करोड २५ लाख ९६ हजार रुपैयाँ मूल्य रहेको BJ30e मा ४WD ड्राइभट्रेन, ६८५ न्युटन मिटर टर्क र २० किलोमिटर प्रतिलिटर माइलेज रहेको कम्पनीले जनाएको छ। त्यस्तै, ३७ लाख ९६ हजार रुपैयाँ मूल्यको ARCFOX T1 मा ७० किलोवाटको मोटर, ४२.३ किलोवाट आवरको ब्याट्री र ३१० किलोमिटर रेन्ज रहेको छ।


सोरुम उद्घाटन कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्रान्ड तथा नवीन यातायात प्रविधिमा नेपाली ग्राहकको पहुँच विस्तार गर्ने उद्देश्यसहित पोखरामा सोरुम सञ्चालन गरिएको बताउनुभयो। उहाँले लक्ष्मी मोटर हबमार्फत गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नेपाली ग्राहकको रुचि विद्युतीय तथा आधुनिक प्रविधियुक्त सवारी साधनतर्फ बढ्दै गएको बताउँदै गुणस्तरीय सवारी साधनसँगै बिक्रीपछिको विश्वसनीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताउनुभयो।
नयाँ सोरुमबाट ग्राहकले सवारी साधनको डिजाइन, प्रविधि तथा विशेषताबारे जानकारी लिनुका साथै व्यावसायिक परामर्श र ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।