काठमाडौं :
चलचित्र पत्रकार संघ नेपाल को दशौं महाधिवेशन नजिकिँदै जाँदा फिल्म विधामा सक्रिय पत्रकारहरूबीच चुनावी रौनक बढेको छ। आगामी वैशाख ५ गते तय महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका छन्।
यसपटक अध्यक्ष र महासचिव पदमा सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्ष पदमा राजन घिमिरे ले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन्। सोही पदमा वर्तमान अध्यक्ष समीर बलामी, पूर्व उपाध्यक्ष विष्णु सुवेदी र हालका सचिव नवीन गिरी को नाम पनि चर्चामा छ। तर, यीमध्ये राजनबाहेक अन्यले औपचारिक घोषणा भने गरेका छैनन्।
कार्यक्रम उपाध्यक्ष पदमा कुमार आचार्य ले उम्मेदवारी घोषणा गरेका छन् भने संगठन उपाध्यक्षमा हालका महासचिव रघुनाथ सापकोटा उठ्ने निश्चित भएको छ। हालसम्म यी पदमा अन्य उम्मेदवार देखिएका छैनन्।
महिला उपाध्यक्ष पदमा सुष्माश्री कार्की र विना श्रेष्ठ को नाम चर्चामा रहे पनि औपचारिक घोषणा भइसकेको छैन।
महासचिव पदमा भने प्रतिस्पर्धा तीव्र हुने देखिन्छ। यस पदका लागि मनिष कार्की, गोपीकृष्ण चापागाईं, पवन भट्टराई र सिपी जैसी बीच प्रतिस्पर्धा हुने सम्भावना छ। यीमध्ये पवनबाहेक अन्यले उम्मेदवारी घोषणा गरिसकेका छन्।
सचिव पदमा मदन रिजाल र सुरेन्द्र थापा प्रतिस्पर्धामा उत्रिएका छन् भने समावेशी सचिवमा महम्मद जलिम को उम्मेदवारी परेको छ। हालसम्मको अवस्थाअनुसार उनी निर्विरोध हुने देखिएको छ।
कोषाध्यक्ष पदमा अन्जान दाहाल (मनिष) ले उम्मेदवारी घोषणा गरेका छन् भने निशा बजगाईं को नाम पनि चर्चामा छ। सह-कोषाध्यक्षमा प्रणव सुवेदी उम्मेदवार बनेका छन्।
सदस्य पदतर्फ एक समावेशीसहित ८ सिटका लागि रतन बहादुर चन्द, यूवर्ण पौडेल (पूजा), दीपराज महतारा, नवीन चापागाईं र सालिकराम न्यौपाने ले उम्मेदवारी घोषणा गरिसकेका छन्।