सुचना, समाचार र मनोरन्जन

१०० करोडभन्दा बढी बजेटको ‘राजा शिवाजी’ अब नेपालमा पनि

मुम्बई :

बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने भएको छ। फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म भारतसँगै नेपालमा पनि रिलिज हुने जानकारी दिए। उनीहरुका अनुसार फिल्म रिलिजकै दिन विशेष प्रदर्शनी हुनेछ । जसमा भारतीय दूतावासका प्रतिनिधिहरू, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीहरूको सहभागी रहनेछ।

Pach Pandav

‘साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, वितरक कश्यप नरेन्द्र वेदले भने ‘यो केवल एउटा फिल्मको प्रदर्शन मात्र नभई भारत र नेपालबीचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने माध्यम पनि हो। दुवै राष्ट्रको वीरताको साझा इतिहास र आध्यात्मिक मूल्यमान्यताले पुस्ताौँदेखि हामीलाई प्रेरित गर्दै आएको छ।’ वितरक वेदले फिल्मको महत्वलाई ध्यानमा राख्दै सिनेमा हलहरूलाई धेरै सो उपलब्ध गराउन समेत आग्रह गरेका छन्।

मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यस फिल्मलाई अपभनेता रितेश आफैँले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन्। फिल्ममा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारहरूको अभिनय छ।विशेष कुरा त के छ भने, रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन् । रितेश देशमुखले शिवाजी महाराजको साहस, बुद्धिमत्ता र गरिमालाई निकै गहिराइमा पुगेर जीवन्त रूपमा प्रस्तुत गरेको समेत बताए।

जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी मे १ (वैशाख १८ गते) देखि नेपालमा प्रदर्शनमा आउनेछ। मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट १०० करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’ प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ।

Leave A Reply

Your email address will not be published.