उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा आज काडमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले अल्पविकसित देशबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएशन) पछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो ।
महानिर्देशक बस्नेतका अनुसार नेपाल अहिले अल्पविकसित देशको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिइकनै उत्पादन गर्न पाउने विशेष सुविधा उपभोग गरिरहेको छ । तर स्तरोन्नति भएपछि नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य उल्लेख्य बढ्न सक्ने अवस्था रहने उहाँको भनाइ छ ।
नेपालले भारत र अन्य तेस्रो देशसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्र्याजुएशनपछि नपाउने स्थिति रहने महानिर्देशक बस्नेत बताउनुहुन्छ । उहाँका अनुसार यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिनेछ ।
भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै जोखिम न्यूनीकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।