काठमाडौँ।
अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो।
बच्चाको रोदनको आवाजबाट सुरु हुने प्रोमोमा अभिनेत्री निरुता सिंहलाई काखमा दुधे बालक बोकेको गम्भीर अवस्थामा देख्न सकिन्छ। प्रोमोमा उनको पैतालाबाट रगत बगिरहेको दृश्यले कथावस्तुलाई थप रहस्यमय र भावुक बनाएको छ। विगतका सिनेमाभन्दा निकै भिन्न र गम्भीर भूमिकामा देखिएकी निरुताको यो प्रस्तुतिले दर्शकमाझ कौतुहलता थपेको छ।
कुमार गजुरेलको निर्देशनमा बनेको यो सिनेमा आगामी मङ्सिर ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ। संकल्प भुजेलको छायाङ्कन रहेको ‘सारथी’लाई म्याग्दीको विकट एवं रमणीय गुर्जा क्षेत्रमा छायाङ्कन गरिएको हो।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको संयुक्त ब्यानरमा निर्मित यस सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन् भने अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माताका रूपमा रहेका छन्। लाइन प्रोड्युसरको जिम्मेवारी अमीर केसीले सम्हालेका छन्।
सिनेमामा निरुता सिंहका साथै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धीरेन कार्कीको मुख्य अभिनय रहेको छ।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा रहेका छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ।