सुचना, समाचार र मनोरन्जन

वर्षापछि काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार

गएको हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डौ उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो ।

एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० का अनुसार गएको हप्ता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेको थियो । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । अहिले भने प्रदूषण घटेर एक्यूआई ७९ सम्म पुगेको छ जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ । गएको हप्ता काठमाण्डौ विश्वको पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा अहिले भने १५औँ स्थानमा रहेको एक्यूआईको तथ्याङ्कमा उल्लेख छ ।

एक्यूआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायु प्रदूषण नियन्त्रण भएको बताउनुभयो । ‘लामो समयसम्म वर्षा नहुँदा धूलो र धूवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ’, उहाँले भन्नुभयो, ‘साथै छिमेकी देश भारतबाट आउने प्रदूषित हावाले पनि काठमाण्डौको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।’

प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.