Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
- हैदराबाद अदालतको समनपछि भिडियो कन्फरेन्स मार्फत जोडिने भए अभिनेता अल्लू अर्जुन
- बक्स अफिसमा ‘लालीबजार’ ९ करोड माथि, ‘रोल नं १’ को व्यापार डेढ करोड पार
- महेश बन्नेछन् ‘मदनकृष्ण’, केकी बन्नेछिन् ‘यशोदा’
- दामोदरकुण्ड पदमार्गमा सञ्चारको सुविधा नहुँदा तीर्थयात्रीलाई समस्या
- पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
- अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
- मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो
- रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
- तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै
मुस्ताङ,
यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एक्याप जोमसोम र लोमान्थाङले यहाँका पाँचैवटा स्थानीय तहमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिरहेको छ ।
थासाङ गाउँपालिका–४ पैरोथाप्लादेखि वारागुङ मुत्तिक्षेत्र–३ छुसाङसम्म कार्यक्षेत्र रहेको एक्याप जोमसोम कार्यालयले चालु आर्थिक वर्षका लागि ११ वटा पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति गर्न ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । एक्याप जोमसोम कार्यक्षेत्रका ११ वटा पर्यटकीय पदमार्ग मर्मतमध्ये तीनवटा सम्पन्न भइसकेको र अन्य पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नतिको चरणमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका पदमार्ग चौडा गर्ने, सरसफाइ गर्ने, जोखिममा रहेका पदमार्गमा छप्पनी ढुङ्गा बिछ्याउने, पदमार्ग उकास्न ग्याबिन वाल र रेलिङ लगाउने काम भइरहेको छ ।
एक्याप जोमसोमले चालु आवमा यहाँको चोेखोपानीदेखि सौरु जोड्ने पदमार्ग, भुतर्छो ताल वरिपरि परिक्रमा गर्ने पदमार्ग, चिमाङ गाउँभित्र जाने पदमार्ग, सौरुदेखि सिर्खुम जाने थाङ्मेडाँडा पदमार्ग र टिटीदेखि लुप्साङ खर्क जाने पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको छ । थासाङको छयोदेखि टिटीताल जाने नयाँ वैकल्पिक पदमार्ग, झिप्रा देउरालीदेखि प्याचु पदमार्ग स्तरोन्नति भइरहेको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।
त्यसैगरी घरपझोङ गाउँपालिकाअन्तर्गत सम्ले गाउँभित्र जाने पदमार्ग र नमखुलेकदेखि तिलिचो ताल जाने पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत मनाङबाट आएका विदेशी पर्यटकका लागि थोरङफेदीदेखि छेङ्गुर झर्ने पर्यटकीय पदमार्ग र मुक्तिनाथ रानीपौवा पुराङदेखि झारकोट गाउँभित्रसम्मको पुरानो पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति भइरहेको छ ।
एक्याप जोमसोमले अघिल्लो वर्ष यहाँको पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिका लागि २७ लाख ९० हजार रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटअनुसार थासाङ गाउँपालिकाको कालोपानीदेखि धुलोडाँडासम्मको नयाँ पर्यटकीय पदमार्ग निर्माणसहित छवटा पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नति गरेको थियो ।
यहाँको एक्याप लोमान्थाङले पनि पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिमा जोड दिइरहेको छ । यसका लागि चालु आवमा १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । एक्याप लोमान्थाङले यस वर्ष छुसाङदेखि तेताङ पदमार्ग, ताङ्ग्यादेखि पा पदमार्ग, छोसेरदेखि कोन्जोलिङ पदमार्ग र मराङदेखि लोमान्थाङ जोड्ने पर्यटकी पदमार्गहमा मर्मत तथा स्तरोन्नति गरिरहेको छ । पछिल्लो तीन आवमा माथिल्लो मुस्ताङमा २० किमी दूरीमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिएको प्रमुख पौडेलको भनाइ छ ।