
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मुखबाट कागको आवाज निकालेर रमेश दुलालले भेला पारे सयौँ काग
- तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
- गायनमा फर्किइन् विष्णु माझी,बसन्त थापाको अर्काे सहकार्यमा ‘फूल प्याउलीको’ गीत रिलिज
- महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण
- चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक,नेपाल र भारतियको लगानी
- दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
- अस्ट्रेलिया र जुम्लामा छायांकन हुने ‘हजुरबाले भनेथे’ को औपचारिक घोषणा
- तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक
- ‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य
- ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ मा प्रदर्शनको घोषणा
मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै
मुस्ताङ,
यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एक्याप जोमसोम र लोमान्थाङले यहाँका पाँचैवटा स्थानीय तहमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिरहेको छ ।
थासाङ गाउँपालिका–४ पैरोथाप्लादेखि वारागुङ मुत्तिक्षेत्र–३ छुसाङसम्म कार्यक्षेत्र रहेको एक्याप जोमसोम कार्यालयले चालु आर्थिक वर्षका लागि ११ वटा पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति गर्न ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । एक्याप जोमसोम कार्यक्षेत्रका ११ वटा पर्यटकीय पदमार्ग मर्मतमध्ये तीनवटा सम्पन्न भइसकेको र अन्य पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नतिको चरणमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका पदमार्ग चौडा गर्ने, सरसफाइ गर्ने, जोखिममा रहेका पदमार्गमा छप्पनी ढुङ्गा बिछ्याउने, पदमार्ग उकास्न ग्याबिन वाल र रेलिङ लगाउने काम भइरहेको छ ।

एक्याप जोमसोमले चालु आवमा यहाँको चोेखोपानीदेखि सौरु जोड्ने पदमार्ग, भुतर्छो ताल वरिपरि परिक्रमा गर्ने पदमार्ग, चिमाङ गाउँभित्र जाने पदमार्ग, सौरुदेखि सिर्खुम जाने थाङ्मेडाँडा पदमार्ग र टिटीदेखि लुप्साङ खर्क जाने पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको छ । थासाङको छयोदेखि टिटीताल जाने नयाँ वैकल्पिक पदमार्ग, झिप्रा देउरालीदेखि प्याचु पदमार्ग स्तरोन्नति भइरहेको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।
त्यसैगरी घरपझोङ गाउँपालिकाअन्तर्गत सम्ले गाउँभित्र जाने पदमार्ग र नमखुलेकदेखि तिलिचो ताल जाने पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत मनाङबाट आएका विदेशी पर्यटकका लागि थोरङफेदीदेखि छेङ्गुर झर्ने पर्यटकीय पदमार्ग र मुक्तिनाथ रानीपौवा पुराङदेखि झारकोट गाउँभित्रसम्मको पुरानो पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति भइरहेको छ ।
एक्याप जोमसोमले अघिल्लो वर्ष यहाँको पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिका लागि २७ लाख ९० हजार रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटअनुसार थासाङ गाउँपालिकाको कालोपानीदेखि धुलोडाँडासम्मको नयाँ पर्यटकीय पदमार्ग निर्माणसहित छवटा पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नति गरेको थियो ।
यहाँको एक्याप लोमान्थाङले पनि पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिमा जोड दिइरहेको छ । यसका लागि चालु आवमा १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । एक्याप लोमान्थाङले यस वर्ष छुसाङदेखि तेताङ पदमार्ग, ताङ्ग्यादेखि पा पदमार्ग, छोसेरदेखि कोन्जोलिङ पदमार्ग र मराङदेखि लोमान्थाङ जोड्ने पर्यटकी पदमार्गहमा मर्मत तथा स्तरोन्नति गरिरहेको छ । पछिल्लो तीन आवमा माथिल्लो मुस्ताङमा २० किमी दूरीमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिएको प्रमुख पौडेलको भनाइ छ ।