बागलुङ,
यहाँको गलकोट नगरपालिकाको वडा नं ३ स्थित हटियामा एक करोड ५० लाख रुपैयाँमा वडा कार्यालय निर्माण भएसँगै शिवालय आश्रमदेखि सेवा दिँदै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा दिने भएको छ ।
स्थानीयले सङ्कलन गरेको ५० लाख रुपैयाँ र नगरपालिकाको ५० लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ लागतमा दुई रोपनी जग्गामा वडा कार्यालय निर्माण गरेको वडाध्यक्ष फमबहादुर खत्रीले जानकारी दिनुभयो ।
अध्यक्ष खत्रीले भन्नुभयो, “लामो समयसम्म हामीले आश्रमबाट वडा कार्यालय सञ्चालन गर्यौँ, यहाँबाट सेवा प्रवाह गर्दै विभिन्न समस्याहरु भोग्नु परेको थियो, अब आफ्नै भवनबाट व्यवस्थित रुपमा सेवा प्रवाह गर्न सहज हुनेछ ।”
सो भवन निर्माणसँगै गलकोटका ११ वटै वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भएको छ ।