काठमाडौं,
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उक्त कम्पनीद्वारा उत्पादित ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुटमा नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको जनाएको हो।
परीक्षणका क्रममा बिस्कुटमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्डअनुरुप नपाइएको विभागको भनाइ छ। एसियन बिस्कुट एण्ड कन्फेक्सनरीबाट उत्पादन हुँदै आएको ७५ ग्रामको क्रयाकर्स बिस्कुट गुणस्तरहिन भेटिएपछि विभागले बजारमा रहेका बिस्कुटलाई तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम सम्बन्धित कम्पनीलाई उक्त ब्याच नम्बरका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न लिन आदेश दिएको हो।
साथै ऐनको दफाको उपदफा ९४० बमोजिम अर्को सूचना जारी नभएसम्म ती उत्पादनको बिक्री वितरण रोक्न आदेश जारी गरिएको विभागले जनाएको छ।
योसँगै विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।