काठमाडौं :
गायक विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकासकै शब्द र संगीत छ भने उनलाई स्वरमा गायिका रेइशा मिश्रले साथ दिएकी छन्। गीतमा तास स्टुडियोको मिक्सिङ र मास्टरिङ छ भने गीतलाई बिजेश्वर राज तण्डुकारले एरेन्ज गरेका हुन्।
विकासकै युट्यब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा आकांक्षा जोशी र विजेन मगरको अभिनय छ। गीतमा आकांक्षा र विजेनको रोमान्टिक भावलाई देखाइएको छ। कालिन्चोकको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा विजेन र आकांक्षालाई मायाका कुरा गर्दै घुमिरहेको देख्न सकिन्छ। गायक विकासले गीतले दुई मुटुको शान्त प्रेमलाई प्रस्तुत गरेको बताए। उनले यसअघि ‘मन’बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन्।
भिडियोमा सजन कट्टेलको निर्देशन, सौरभ लामाको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, रेनिस फागोको प्रोजेक्ट लिड र कलर ग्रेडिङ, समीर मियाँ र सत्यम रानाको भीएफएक्स छ। नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन् । उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता संगीत प्लेटफर्महरूमा उपलब्ध छ।