सुचना, समाचार र मनोरन्जन

भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने

नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ । भारतको टी बोर्डले मे १ देखि लागू गरेको अनिवार्य परीक्षणसम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ ।

यसैसँगै नेपालको चिया निर्यात पुनः खुलेको हो । नेपाल चिया उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार अब नेपालबाट विनाअवरोध चिया भारत जाने भएको छ ।

गएको वैशाख १८ गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए ।

भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ । नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ ।

नेपालमा अहिले साना–ठूला गरी झन्डै १२० चिया उद्योग सञ्चालनमा छन् र ५० देखि ६० हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । अघिल्लो वर्ष मात्रै ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

Leave A Reply

Your email address will not be published.