सुचना, समाचार र मनोरन्जन

फिल्म ‘रोल नं १’ को नयाँ गीत: आमा-बुबा नै ईश्वर हुन् भन्ने सन्देश

काठमाडौं :

प्रदर्शनोन्मुख नेपाली फिल्म ‘रोल नं १’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मेरो लागि तिमी’ बोलको भावनात्मक (इमोस्नल) गीत सार्वजनिक गरिएको हो।

यस गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। गीतले सन्तानका लागि आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण हुन्छन् भन्ने कुरालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। सन्तानका लागि आमा–बुबा नै ईश्वर र मन्दिर हुन् भन्ने यथार्थलाई मुख्य सन्देश बनाएको यस गीतले आफ्नो भाग्यको समेत पर्वाह नगरी सन्तानको निम्ति त्याग र संघर्ष गर्ने अभिभावकको महानतालाई देखाएको छ। यो गीतले फिल्मको मुख्य विषयवस्तु (सेन्ट्रल पोइन्ट) लाई समेत प्रस्ट्याएको छ।

सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जस्तोसुकै दुःख र हन्डर सहन तयार हुने अभिभावकलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतले फिल्मले दर्शकलाई के देखाउन खोज्दैछ भन्ने प्रस्ट संकेत गर्छ। साथै, यो फिल्मले आम नेपाली ग्रामीण समुदायका गरिब परिवारको कथा भन्ने संकेत समेत गीतबाट मिल्छ। गीतको भिडियोमा फिल्मका मुख्य फुटेजहरू समेट्दै कलाकारहरूलाई फिचर गरिएको छ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्मको सह(निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘रोल नं १’ ले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माण पक्षले जनाएको छ। वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उनीहरूको समग्र जिन्दगीमा निम्त्याउने असरलाई फिल्ममा समेटिएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। त्यस्तै, बाल(कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।

महेश दवाडीको लेखन रहेको यस फिल्मका डीओपी शिवराम श्रेष्ठ हुन्। फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक ९विजिएम०, फिरोज खड्काको मुख्य सहायक निर्देशन (चिफ एडी), कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको प्रोडक्सन हेडका रूपमा काम रहेको छ भने फिल्मलाई मदन घिमिरेले सम्पादन गरेका हुन्।

निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले गर्ने भएका छन्।

Leave A Reply

Your email address will not be published.