सुचना, समाचार र मनोरन्जन

तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव: ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म, विपिन, जसिता र पल शाहलाई अवार्ड

काठमाडौं :

आर्टमाण्डू नेपालद्वारा निर्मित फिल्म ‘ऊनको स्वीटर’ ले ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०८३’ मा उत्कृष्ट फिल्मसहित सर्वाधिक विधामा अवार्ड जित्न सफल भएको छ।

शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सो फिल्म उत्कृष्ट फिचर फिल्म घोषित भएको हो। फिल्मबाटै विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे।

यसैगरी, फिल्म ‘जेरी अन टप’ बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरियो। महोत्सवमा राजबहादुर सानेले ‘कर्णाली एडिसन अवार्ड (निर्देशक)’ प्राप्त गर्दा आशिष तामाङले ‘उदीयमान फिल्म निर्माता तथा वितरक’ को अवार्ड जिते। मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ ले उत्कृष्ट सर्ट फिल्मको अवार्ड हात पार्यो भने फिल्म ‘प्रेम गीत २’ का निर्माता सन्तोष सेनलाई ‘कर्णाली भिजनरी अवार्ड’ बाट सम्मानित गरियो।

अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै अभिनेत्री गुरुङले सो पुरस्कार सम्पूर्ण दर्शकप्रति समर्पण गरिन्। यस्तै, अभिनेता शाहले यस अवार्डले आफूलाई थप जिम्मेवारी बोध गराएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। आफ्नो पहिलो फिल्मबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका चौहानले कामको मूल्याङ्कन भएकोमा आयोजकप्रति आभार प्रकट गरे।

महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको मुख्य आकर्षण “इतिहासलाई फर्केर हेर्दा — पहिलो फिल्म अवार्ड संवाद” रहेको थियो। वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल आमन्त्रण गरी पहिलो पटक ‘नेपाल फिल्म अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद भएको थियो। वरिष्ठ निर्देशक तथा फिल्म इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको सो अन्तरक्रियामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्नो अनुभव साटेका थिए।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई फिल्मका माध्यमबाट विश्वसामु चिनाउनु र फिल्मलाई पर्यटन प्रवर्द्धनसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले फिल्म र पर्यटनको अन्तरसम्बन्ध तथा त्यसमा बोर्डको भूमिकाबारे प्रकाश पारे।

रेड चेरी मिडियाद्वारा आयोजित यो महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट शुभारम्भ भएको थियो। यसैको स्थानीय संस्करणका रूपमा सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह फिल्म तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो।

समारोहमा फिल्म विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल, फिल्म कलाकार संघका अध्यक्ष उत्तम केसी, फिल्म निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार रेखा थापा, हितेश पन्त, निर्माता प्रेम पुरी, पवित्रा साँकी (मिस पबि), गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत सुरक्षा पन्त र महोत्सवकी संरक्षक भवानी राणालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.