सुचना, समाचार र मनोरन्जन

फिल्म ‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता गुरुङ अनुबन्ध

काठमाडौं :

चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा रिस्ता गुरुङ अनुबन्ध भएकी छन्। फिल्मका निर्माता समेत रहेका निर्देशक पन्तले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीसँग अनुबन्ध गरेका हुन्।

फिल्ममा अनुबन्ध भएपछि खुसी व्यक्त गर्दै अभिनेत्री गुरुङले यति राम्रो टिमसँग काम गर्न पाउनु आफ्नो भाग्य भएको बताइन्। उनले भनिन्, “पल शाह वा आकाश श्रेष्ठ कसको जोडी बन्ने भन्नेभन्दा पनि यो टिममा काम गर्न पाउनु नै मेरा लागि ठुलो कुरा हो। मलाई सबैसँग काम गर्न सहज लाग्छ, फलानोसँग मात्र गर्ने भन्ने मेरो कुनै सर्त छैन।”

पत्रकार सम्मेलनमा निर्देशक पन्तले फिल्ममा अभिनेत्री गुरुङको जोडी को हुने भन्ने विषयलाई गोप्य राखेका छन्। यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “उहाँ ‘आ बाट आमा २’ को मुख्य अभिनेत्री हो। तर, उहाँको अपोजिटमा को अभिनेता हुनेछन् भन्ने कुरा अहिलेलाई सरप्राइज नै छाडिएको छ।” अभिनेत्री गुरुङ रियालिटी शो ‘मेरो डान्स युनिभर्स २’ की विजेता हुन्।

आगामी असोज ३० गते अर्थात् दसैँको फूलपातीका दिन प्रदर्शन मिति तोकिएको यस फिल्ममा यसअघि नै पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्ध भइसकेका छन्।

यो फिल्म गत वर्ष प्रदर्शनमा आएको व्यावसायिक रूपमा सफल फिल्म ‘आ बाट आमा’ को सिक्वेल हो, जसले बक्स अफिसमा करिब १४ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको थियो। अघिल्लो फिल्मको कथालाई निरन्तरता दिँदै निर्देशक पन्तकै लेखन ९कथा तथा पटकथा० मा सिक्वेल निर्माण गर्न लागिएको हो।

आगामी केही सातापछि छायांकन ९फ्लोर० मा जाने तयारीमा रहेको यो फिल्म प्रदर्शन अगावै अमेरिका र क्यानडाका लागि सोल्ड आउट भइसकेको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले अहिलेसम्मकै महँगो रकम तिरेर फिल्मको प्रदर्शन अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

आर्या इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्मको नेपाल वितरण आरआर फिल्म्सले सम्हाल्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। फिल्मको प्रोडक्सन म्यानेजरका रूपमा करणसिंह रसाली रहेका छन्।

Leave A Reply

Your email address will not be published.