काठमाडौं :
नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रबाट सम्मान तथा शुभकामना दिने क्रम तीव्र बनेको छ। यसै सिलसिलामा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा एक विशेष समारोहको आयोजना गरी नयाँ कार्यसमितिलाई सम्मान गरेको छ।
सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलाकार संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी, उपाध्यक्षद्वय शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा तथा सहकोषाध्यक्ष पवन केसीलाई सम्मान गरियो। यस्तै कार्यसमिति सदस्यहरू इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान संकर ‘ईकु’, छुल्टिम गुरुङ र रस्मी भट्ट लगायतलाई पनि सो अवसरमा सम्मानित गरियो।
बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री मधुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै तिमीले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएकाले चलचित्र क्षेत्रको विकासका लागि राज्यले थप प्रभावकारी नीति र सहयोग ल्याउनुपर्नेमा जोड दियौ। कार्यक्रममा विशेष अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, संघकी संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला तथा संस्थापक एवं प्रथम निर्वाचित अध्यक्ष रवीन्द्र खड्काको उपस्थिति रहेको थियो। समारोहको सञ्चालन घनश्याम खतिवडाले गरेका थिए।
सोही अवसरमा पनौती नगरपालिकाको तर्फबाट पनि नवनिर्वाचित टोलीलाई छुट्टै सम्मान गरिएको थियो भने स्थानीय सरकार र चलचित्र क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखिएको थियो। कार्यक्रममा अनुशासन समिति संयोजक नारायण प्रधान, कानुनी सल्लाहकार कृष्ण ढुंगाना, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, अभिनेत्रीहरू शर्मिला मल्ल, रेजिना उप्रेती, विमला केसीसहित चलचित्र क्षेत्रका थुप्रै गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति थियो।
यसैबीच, नयाँ कार्यसमितिलाई स्थानीय तहहरूले पनि सम्मान गर्ने क्रम बढेको छ। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आ(आफ्नो नगरमा विशेष कार्यक्रम गरी नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्। निर्वाचनलगत्तै सरकारी निकाय, स्थानीय तह र चलचित्र सम्बद्ध संघसंस्थाबाट पाएको यो सम्मानलाई चलचित्र क्षेत्रप्रतिको बढ्दो आकर्षण र अपेक्षाका रूपमा लिइएको छ। कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष उत्तम केसीले कलाकारहरूको पेसागत सुरक्षा, सामाजिक सम्मान र क्षमता अभिवृद्धिका लागि आफूहरू प्रतिबद्ध रहेको र सबै निकायसँग समन्वय गरेर अघि बढ्ने बताए।