पोखरा :
पोखरा विश्वविद्यालय फुटबल क्लब (पीयूएफसी) को आयोजनामा आगामी जेठ २९ गतेदेखि ‘पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३’ को तेस्रो संस्करण सुरु हुने भएको छ। कास्कीको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा सञ्चालन हुने यो प्रतियोगिता असार ५ गतेसम्म चल्नेछ।
नेपालभरका विश्वविद्यालयस्तरीय कलेजहरूलाई खेलकुदको माध्यमबाट जोड्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिमान प्रधानले जानकारी दिए। उनका अनुसार नेपालभर ब्याचलर्स तथा मास्टर्स तहका कक्षा सञ्चालन गरिरहेका कलेजहरूले यस प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टोलीले नगद ७० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विधागत खेलाडी तथा प्रशिक्षकका लागिसमेत नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअन्तर्गत उत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३ रुपैयाँ र उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीलाई जनही २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। क्वार्टरफाइनलदेखिका प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले १ हजार रुपैयाँ, ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि आवेदन फारम बुझाउने अन्तिम मिति जेठ २७ गतेसम्म तोकिएको छ। जेठ २८ गते टाइ–सिट ड्र गरिने कार्यक्रम रहेको छ भने विरोध (प्रोटेस्ट) शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक कलेज तथा संस्थाहरूलाई तोकिएको समयभित्रै आफ्नो टोली दर्ता गर्न आयोजक क्लबले आह्वान गरेको छ।