सुचना, समाचार र मनोरन्जन

चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा

चितवन,
पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका–९ स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार ल्याउने तयारी भइरहेको छ ।
वन तथा वातावरणमन्त्री गीता चौधरीले आफ्नो कार्यभार सम्हालेपछि गरेका पहिलो चार निर्णयमध्ये कृष्णसार स्थानान्तरणका विषयलाई प्राथमिकतामा राखेपछि सात वर्षअघि रत्ननगर नगरपालिकाले अघि बढाएको अभियानले मूर्तरूप पाउन लागेको छ । केही समयअघि प्राविधिक टोलीले संरक्षण केन्द्र वरिपरि रहेका केही भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनुपर्ने सुझाव दिएपछि सो प्रक्रिया अघि बढाइएको हो ।
रत्ननगर नगरपालिकाले टिकौलीमा कृष्णसार राख्न आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको जनाएको छ । नगर प्रमुख प्रह्लाद सापकोटाले तारजालीलगायत भौतिक पूर्वाधार निर्माण पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तारजालीलगायत अन्य भौतिक पूर्वाधार पूरा भइसकेको छ । सबै नगरपालिकाकै खर्चमा कृष्णसार ल्याउन लागिएको हो ।”
उहाँका अनुसार पहिलो चरणमा १२ पोथी र छ भाले गरी १८ वटा कृष्णसार ल्याइने तयारी गरिएको छ । डिभिजन वन कार्यालय चितवनको प्राविधिक सहयोगमा संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ । कृष्णसारका लागि तयार गरिएका क्षेत्रमा घाँसे मैदानको छेउछाउमा रहेका केही रुख व्यवस्थापन गर्ने काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।
सापकोटाका अनुसार कृष्णसार संरक्षण केन्द्र निर्माणमा हालसम्म करिब रु तीन करोड खर्च भइसकेको छ । “कृष्णसार ल्याएपछि यहाँको पर्या–पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
कृष्णसार संरक्षणलाई पर्या–पर्यटनसँग जोड्ने योजना रहेको बताउँदै प्रमुख सापकोटा भन्नुभयो, “यहाँ कृष्णसार ल्याएर हुर्काउने र संरक्षण गर्ने आफ्नो ठाउँमा रह्यो, त्यसलाई पर्या–पर्यटनसँग जोड्ने पनि हाम्रो लक्ष्य हो । त्यही क्षेत्रमा हरियाली पार्क निर्माणको काम पनि भइरहेको छ ।”
केन्द्र नजिकै रहेको खगेरी खोलाको पानी उपयोग गरेर बोटिङ सञ्चालन गर्ने र पश्चिम चितवनतर्फ रहेको नहर सञ्चालनमा थप सहजता ल्याउने योजना रहेको बताउनुभयो । “सौराह आउने पर्यटकलाई टिकौलीसम्म आकर्षित गर्ने उद्देश्यले पर्या–पर्यटनको अवधारणा अघि बढाइएको हो”, उहाँले भन्नुभयो ।
टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेका छन् । नगर प्रमुख सापकोटाले कृष्णसारलाई चितुवाको जोखिमबाट जोगाउन केही रुख हटाउन आवश्यक देखिएको बताउनुभयो । उहाँले आवश्यक प्रक्रिया पूरा भएपछि कृष्णसार चाँडै चितवन ल्याइने विश्वास व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले कृष्णसार स्थानान्तरणका लागि अन्तिम चरणका काम भइरहेको बताउनुभयो । चितुवालगायत वन्यजन्तुले रुख चढेर कृष्णसारमाथि आक्रमण गर्नसक्ने जोखिम रहेकाले इन्क्लोजर वरिपरिका केही रुख हटाउनुपर्ने निष्कर्षमा पुगेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थलगत निरीक्षण एवं अध्ययन गर्दा केन्द्र वरिपरि रहेका केही भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनुपर्ने निष्कर्षमा पुगेका छौँ ।” आचार्यका अनुसार संरक्षण क्षेत्र बाहिरतर्फ करिब १०६ वटा र भित्रतर्फ २३ वटा रुख व्यवस्थापन गर्नुपर्ने देखिएको छ । “अब स्थानान्तरण र रुख व्यवस्थापनको काम मात्रै बाँकी छ”, उहाँले भन्नुभयो ।
सालका रुख हटाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रतिवेदन प्रदेश वन निर्देशनालय र मन्त्रालयमार्फत वन विभागमा पठाइने उहाँले जानकारी दिनुभयो । “सरकारको प्राथमिकतामा परेको कार्यक्रम भएकाले मन्त्रालयले पनि यसलाई महत्त्वका साथ अगाडि बढाउने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो, “रुख व्यवस्थापनको काम सम्पन्न हुनासाथ करिब ९० प्रतिशत प्रक्रिया पूरा भएको मान्न सकिन्छ ।”
विसं २०७७ मा अध्ययन सुरु गरी २०७८ देखि कृष्णसार ल्याउन आवश्यक पूर्वाधार निर्माणको काम थालिएको थियो । विभिन्न प्राविधिक कारणले स्थानान्तरण प्रक्रिया केही समय ढिलाइ भएको थियो । कृष्णसार नेपालको संरक्षित वन्यजन्तुको सूचीमा रहेको लोपोन्मुख प्रजाति हो ।
विसं २०३३ मा बर्दियाको खैरापुर क्षेत्रमा यसको सङ्ख्या नौ वटामा सीमित रहेको थियो । संरक्षणका विभिन्न प्रयासपछि यसको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार विगतमा सदर चिडियाखाना र खैरापुरबाट गरी ४२ वटा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो । हाल खैरापुर र शुक्लाफाँटासहित प्राकृतिक बासस्थानमा कृष्णसारको सङ्ख्या ५०० भन्दाबढी पुगेको मन्त्रालयले जनाएको छ ।
Leave A Reply

Your email address will not be published.