सुचना, समाचार र मनोरन्जन

एआई प्रविधिबाट व्यवसाय प्रवर्द्धन गर्न पोखरामा पाँच दिने तालिम

पोखरा :

पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा व्यवसायी, उद्योगी तथा स्टार्टअप सञ्चालकहरूका लागि पाँच दिनको ‘एआई प्रविधिद्वारा ब्रान्डिङ तथा मार्केटिङ’ तालिम सुरु भएको छ। डिजिटल बजार प्रवर्द्धन, ब्रान्ड विकास तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगमार्फत स्थानीय व्यवसाय विस्तार गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाको कृषि प्रवर्द्धन महाशाखाका प्रमुख मनोहर कडरियाले परम्परागत व्यावसायिक अभ्यासभन्दा नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। एआई प्रविधिको प्रयोगमार्फत समय र लागतको बचत हुने उल्लेख गर्दै उनले प्रविधिकै कारण स्थानीय उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सफल भएको बताए। उनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन, कृषि, उद्योग र सूचना प्रविधिलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी, व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले समयानुकूल व्यवसाय सञ्चालनका लागि डिजिटल माध्यमको प्रयोग अपरिहार्य बनिसकेको बताउँदै सहभागीहरूलाई तालिमको ज्ञान व्यवहारमा उतार्न सुझाव दिए। मुख्य प्रशिक्षक पुष्कर शर्माले तालिम अवधिभर ग्राहकको मनोविज्ञान, विज्ञापन निर्माण, लेबल डिजाइन, सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, ग्राफिक डिजाइन र भिडियो मार्केटिङ लगायतका पक्षमा व्यावहारिक प्रशिक्षण दिइने जानकारी गराए।

पाँच दिनसम्म चल्ने यो तालिममा विभिन्न क्षेत्रका ६० जना व्यवसायीहरूको सहभागिता रहेको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका उद्यमहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न यो तालिम कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.