सुचना, समाचार र मनोरन्जन

वाईआरएफ स्पाइ युनिभर्समा ‘अल्फा’को प्रवेश, आलिया बनिन् प्रशिक्षित हत्यारा

काठमाडौं :

निर्माता आदित्य चोपडा को ब्यानर यशराज फिल्म्स (वाईआरएफ)ले फिल्म अल्फा को टिजर सार्वजनिक गरेको छ। निर्माण टिमले हालै फिल्मको टिजर रिलिज गरेको हो। वाईआरएफ स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको फिल्मले युनिभर्सकै पहिलो ‘ओरिजिन स्टोरी’ प्रस्तुत गर्दै हत्या गर्नकै लागि हुर्काइएकी र तयार पारिएकी एक युवा हत्याराको कथालाई प्रस्तुत गरेको देख्न सकिन्छ।

सार्वजनिक टिजरमा आलिया भट्ट ले निर्वाह गरेको पात्रलाई उनका बुबाले विशेष प्रशिक्षणसहित हुर्काएको देखाइएको छ। बुबाको भूमिकामा बबी देओल छन्। टिजरमा देओलको पात्रले छोरीको १८औँ जन्मदिन मनाउँदै उनलाई पहिलो ‘टार्गेट’ समाप्त गर्ने जिम्मेवारी दिएको देखिन्छ।

त्यसपछि ‘अल्फा’ नामक भारतीय सैनिकको नयाँ पुस्ता तयार पार्ने गोप्य प्रशिक्षण कार्यक्रमको प्रसंग प्रस्तुत गरिएको छ। टिजरभरि आलियालाई जोखिमपूर्ण स्टन्ट, लडाइँ र एक्सन दृश्यमा देखाइएको छ, जसले फिल्मलाई महिला–प्रधान एक्सन थ्रिलरका रूपमा स्थापित गर्ने संकेत दिएको छ।

वाईआरएफले फिल्मकी अर्की मुख्य अभिनेत्री शरवरी को पात्रबारे पनि छिट्टै खुलासा गरिने जनाएको छ। निर्माण कम्पनीका अनुसार ‘अल्फा’ दुई युवतीको साहस, आत्मविश्वास र ‘अल्फा’ सोचलाई केन्द्रमा राखेर निर्माण गरिएको शुद्ध मनोरञ्जनात्मक फिल्म हो।

शिव रवाइल निर्देशित फिल्म आगामी जुलाई ३, २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा अनिल कपूर को पनि महत्वपूर्ण भूमिका रहेको छ। स्पाइ युनिभर्सअन्तर्गतको पछिल्लो फिल्ममा ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा देखिएका थिए। ‘अल्फा’सँगै वाईआरएफ स्पाइ युनिभर्सले पहिलोपटक महिला पात्रलाई केन्द्रमा राखेर नयाँ अध्याय सुरु गर्न लागेको छ।

Leave A Reply

Your email address will not be published.