सुचना, समाचार र मनोरन्जन

मद्यपान र लैंगिक विभेदविरुद्ध ‘जाँड’को ट्रेलर सार्वजनिक

काठमाडौं :

आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिलम ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलर रिलिज गरिएको हो।

उक्त ट्रेलरले मद्यपानका कारण परिवार र समाजमा उत्पन्न हुने समस्या तथा लैंगिक विभेदजस्ता सामाजिक विषयलाई उठान गरेको छ। राजु शाहको निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरमा जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा निम्त्याउने तनाव, कलह र त्यसले पार्ने सामाजिक प्रभावलाई चित्रण गरिएको छ। मद्यपानको लतका कारण पत्नी र छोरीले भोग्नुपर्ने पीडा तथा समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई पनि ट्रेलरमा समेटिएको छ।

फिल्मले मद्यपानको दुष्प्रभावसँगै नेपाली समाजमा अझै कायम रहेको ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने सोचमाथि प्रश्न उठाएको छ। छोराप्रतिको मोह र छोरीप्रतिको विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्यालाई कथाको केन्द्रमा राखिएको निर्माण टिमले जनाएको छ।

राजेन्द्र भट्टको निर्माणमा बनेको यस फिल्ममा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल र किरणप्रताप केसीलगायत कलाकारको अभिनय रहेको छ। ट्रेलरमा कलाकारहरूले भावनात्मक र सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्मका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन्।

फिल्मको मुख्य सहायक निर्देशक शम्भु गौतम हुन् भने किशोर डंगोल र नरेन्द्रकुमार केसी सह(निर्देशकका रूपमा रहेका छन्। दिपेन बस्न्यातको छायांकन तथा सम्पादन रहेको फिल्ममा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ। निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हालेका छन्।

फिल्ममा श्रीपुरुष ढकालका शब्द तथा रोशन बालुवाको संगीत र स्वर समावेश छ। सामाजिक यथार्थ, पारिवारिक संवेदना र चेतनामूलक सन्देशलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जाँड’ले मद्यपानको दुष्प्रभाव र लैंगिक विभेदजस्ता विषयलाई उठान गर्दै दर्शकमाझ फरक स्वादको कथा प्रस्तुत गर्ने अपेक्षा निर्माण टिमको छ।

फिल्मको वितरण नेशनल सिने ग्रुप नेपालले गर्नेछ। ट्रेलर ओभिएज डिजिटल इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.