सुचना, समाचार र मनोरन्जन

फिल्म निर्माता तथा निर्देशक कृष्ण चापागाईंको निधन

काठमाडौं :

नेपाली फिल्मका निर्माता, निर्देशक तथा लेखक कृष्ण चापागाईं को हृदयघातका कारण निधन भएको छ। उनको बुधबार बिहान अमेरिकाको क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट अस्पताल ९सीएचए० मा उपचारका क्रममा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएका चापागाईंको आईसीयूमा उपचार भइरहेको थियो। लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएका उनी नेपाली फिल्म क्षेत्रका स्थापित स्रष्टामध्ये एक थिए।

चापागाईंले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’, ‘निखिल दाइ’ र ‘महान’ लगायतका चलचित्र निर्देशन गरेका थिए। उनका अधिकांश चलचित्रको कथा तथा पटकथा पनि उनले आफैं लेखेका थिए। उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘दुश्मनी’ सन् २०१३ मा प्रदर्शनमा आएको थियो।

फिल्म निर्देशनसँगै उनले केही समय काठमाडौंको जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ सञ्चालन गरेका थिए। उक्त स्टुडियोले नेपाली चलचित्र तथा टेलिभिजन सिरियल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

परिवारसँग अमेरिकामा बसोबास गरिरहेका चापागाईं आगामी असोजमा नेपाल फर्किएर पुनः फिल्म निर्माण तथा निर्देशनमा सक्रिय हुने तयारीमा थिए। तर, उनको त्यो योजना पूरा हुन नपाउँदै निधन भएको हो। उनको निधनसँगै नेपाली फिल्म उद्योगले एक अनुभवी निर्देशक, लेखक र निर्मातालाई गुमाएको छ। फिल्मकर्मीहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.