सुचना, समाचार र मनोरन्जन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी

काठमाडौँ,

नयाँ बनाइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफ्नो सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने दोस्रो मन्त्रालय बनेको छ। महावीर पुन मन्त्री रहेको मन्त्रालयले साउन ११ गते सङ्गठन संरचना स्वीकृत गरी औपचारिक दर्ताका लागि राष्ट्रिय किताबखाना (निजामती) मा पठाएको हो।

मन्त्रालयले स्वीकृत गरेको नयाँ सङ्गठन संरचना अनुसार कुल ९० जनाको दरबन्दी कायम गरिएको छ। जसमध्ये प्रशासनिक नेतृत्वका लागि विशिष्ट श्रेणीको १ जना सचिवको दरबन्दी रहनेछ। त्यसैगरी, ३ जना सहसचिवको दरबन्दी स्वीकृत भएको किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए । जसमा इन्जिनियरिङ सेवाका २ जना र प्रशासन सेवाका १ जना सहसचिव रहने मन्त्रालयले जनाएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलले मन्त्रालयको दरबन्दी तेरिज प्राप्त भएको पुष्टि गर्दै आजै ‘फास्ट ट्रयाक’ बाट दर्ता समेत गरिसकिएको जानकारी दिए ।

किताबखानाले नयाँ मन्त्रालयहरूको सङ्गठन संरचना छिटो छरितो ढंगले दर्ता गर्नका लागि तालिमप्राप्त जनशक्ति सम्मिलित एक ‘विशेष कार्य टोली’ नै बनाएर काम गरिरहेको महानिर्देशक पोखरेलले बताए । वैज्ञानिक अनुसन्धान र आविष्कारलाई प्राथमिकता दिने उद्देश्यले गठन भएको मन्त्रालयले सङ्गठन संरचना टुङ्ग्याएसँगै अब कर्मचारी व्यवस्थापन र कार्यसम्पादनको प्रक्रियाले गति लिनेछ ।

Leave A Reply

Your email address will not be published.