पोखरा :
कास्कीको पोखरा महानगरपालिका १४ नयाँ एयरपोर्टस्थित एक स्थानबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा बुधबार दिउँसो ४ बजेको समयमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा प्रहरीले जुवाको खालबाट नगद ९१ हजार ५ सय ३५ रुपैयाँ र १ हजार ८३ पत्ती तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका ९ जनामाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।