सुचना, समाचार र मनोरन्जन

को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु

काठमाडौं :

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ। आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् ।

मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।थुप्रै नायिकाहरूको लाइनअप रहेको यो चलचित्रमा दिल श्रेष्ठ नायक हुन्। दिलको यो तेस्रो कथानक चलचित्र हो। यसअसघि उनले रेखासँग पनि सहकार्य गरिसकेका छन्।

६ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘हिरो रिटर्न्र्स’मा उनले काम गरेका थिए। यो चलचित्रमा उनले रेखासँगै काम गरेका थिए।त्सअघि उनले ‘पर्खि राख है’मा काम गरेका थिए। यो चलचित्र २०११ मा प्रदर्शनमा आएको थियो। यो उनको डेब्यु सिनेमा थियो । बीचका ६ वर्ष उनी सिनेमामा देखिएनन्।

“म यो बीचमा चलचित्रमा काम नगरे पनि निरन्तर अपडेट छु । म चलचित्रमा काम गरौँ वा नगरौँ, यो क्षेत्रबाट टाढा हुन सक्दिनँ,” दिल भन्छन्, “यो पटक मैले अघिल्ला चलचित्रहरूमा गरेको कमजोरीलाई परिमार्जन गर्दै काम गरेको छु ।” दर्शकले आफ्नो काम मन पराउनेमा उनी ढुक्क छन् । राम्रो टिम र लेजेन्डसँगको सहकार्यले आफूलाई थप जिम्मेवार बनाएको बताउने उनले मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता कालाकारसँग स्क्रिन सेयर गर्नु आफैँमा चुनौतीपूर्ण पनि हुने प्रस्ट पार्छन्।तर, यो चुनौतीलाई आफूले अवसरमा रुपान्तरण गरेको दिल बताउँछन्। ‘माया भनेकै यस्तो होला’ अहिले पोस्ट प्रोडक्सनमा छ। यो चलचित्र भदौ २६ गते, तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउँदैछ। चलचित्रलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

रेखाले पहिलोपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर यो चलचित्र निर्देशन गरेकी छन्। ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन छ । लम्सालले चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र परिवेश प्रस्तुत गर्ने बताएका छन्। सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक,राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप तथा चुडामणि प्रोडक्सनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.