पोखरा,
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन् । पोखरा ७ मासबारमा रहेको यस विद्यालयका विद्यार्थीले ल्याएको यो नतिजा सम्भवतः देशकै उत्कृष्ट हो । गत वर्ष पनि यस विद्यालयका १२ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएर नेपाल टप गरेका थिए ।
यसपालि ३.९६ जिपिए ल्याउनेमा १ जना व्यवस्थापन र १० जना विज्ञान संकायका विद्यार्थी छन् । व्यवस्थापनतर्फ दृश्या घिमिरेले यो सफलता पाएकी हुन् । विज्ञानतर्फ आशिष बस्ताकोटी, दीक्षा घिमिरे, इक्युटी पौडेल, जस्मिन बोहोरा, कृपा बराल, कृस्टिना पौडेल, मिजल पराजुली, रेडियस पोखरेल, सम्पूर्ण शर्मा र श्रेया तामाङले ३.९६ जिपिए ल्याएका छन् । यीमध्ये आशीष, इक्युटी, कृपा र रेडियसले एसईई परीक्षामा ४ जिपिए हासिल गरेका थिए ।
विद्यालयबाट परीक्षामा सहभागी ४०७ जनामध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार २०८ जना विद्यार्थीले ३.६० भन्दा माथि जिपिए ल्याएका छन् । त्यसैगरी १४३ जनाले ३.२० देखि ३.६० सम्म र ४६ जनाले २.८० देखि ३.२० सम्म जिपिए प्राप्त गरेका छन् । ६ जना विद्यार्थीको २.४२ देखि २.८० सम्म जिपिए आएको छ ।
देशभरको नतिजा हेर्दा नियमिततर्फ कुल ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ जनामध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बाँकी १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएको तथ्यांक छ ।
प्राचार्य डा नारायण बरालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिएका छन् । उनले विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिँदै शिक्षक र अभिभावकप्रति आभार व्यक्त गरे ।