काठमाडौं :
चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ। छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो।चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन्।
“वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,” निर्देशक पौडेलले भने, “यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” हतारमा आउनुभन्दा पनि सबैलाई अनुकूल हुनेगरी पोस्टप्रोडक्सनमा पनि समय लिएर आउन लागेको उनले प्रस्ट पारे ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भइसकेको छ। छायांकनका क्रममाा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि अहिले निर्माण टिमले केही समयलाई ब्रेक लिएको छ। बाँकी छायांकन असार १५ पछि मात्रै हुनेछ।
अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ। निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरेका थिए।
यो चलचित्रमा विजय बराल, अञ्जना बराइली,विनोद न्यौपानेलगायत कलाकार मुख्य भूमिकामा छन्। यस्तै चलचित्रमा कमलमणि नेपाल, लोकेन्द्र लेखक,भोलाराज सापकोटा,विनोद न्यौपाने,पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ। चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ। चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन्। बाबु श्रेष्ठले छायांकन रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।