काठमाडौं :
नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक संशय मन्चन हुने भएको छ। अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउट ‘अ प्यारावल’मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन्। नाटकमा नेपाल फिल्म क्याम्पसका विद्यार्थीहरु सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नि थापाको अभिनय रहेको छ।
शेन्लीको यस नाटकले पुलिट्जर प्राइज, टोनी अवार्ड जस्ता प्रतिष्ठित पुरस्कार पाएको थियो भने नाटकमै आधारित भएर शेन्ली आफैले निर्देशन गरेको सन् २००८ को चलचित्र ‘डाउट’ अस्करको विभिन्न पाँच विधामा मनोनित समेत भएको थियो।
निर्देशक बरालका अनुसार नाटकले क्याथोलिक विद्यालय भित्रको शक्ति सम्बन्ध, नैतिक दुविधा साथै परम्परावाद र सुधारवादबीचको द्वन्द्वलाई गहन रूपमा प्रस्तुत गर्दै शंका,विश्वास र सत्यको विविध आयामहरु खोतल्ने प्रयास गर्दछ। नाटक यहि असार १९ गते देखि २८ गतेसम्म (बुधबार बाहेक)हरेक दिन साँझ ५ : १५ बजेबाट पिंगलास्थान स्थित स्टुडियो थिएटरमा मन्चन हुनेछ।
चलचित्रका विभिन्न विधाहरुको अध्यापन गराउदै आएको नेपाल फिल्म क्याम्पसले विद्यार्थीहरुको संलग्नतामा नियमित रुपमा नाटक मन्चन गर्ने योजना बनाएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले जानकारी दिएका छन्।