सुचना, समाचार र मनोरन्जन

तनहुँमा २७ वन्यजन्तुको उद्धार

तनहुँ,

डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२÷८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेलापरेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो । कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा दुईवटा चितुवा, एक चरीबाघ, एक मृग, एक स्याल र एक भार्से रहेका छन् । यस्तै जीवित अवस्थामा उद्धार गरिएका वन्यजन्तुमा एक चरीबाघ, चार अजिङ्गर, १४ विभिन्न प्रजातिका सर्प तथा एउटा गिद्ध रहेका छन् ।

Chaka Panja

रानाभाटले वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते हुने, दुर्घटनामा पर्ने तथा विभिन्न कारणले जोखिममा पर्ने घटना बढ्दै गएको अवस्थामा कार्यालयले उद्धार तथा व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको छ ।

“वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यालयको प्रमुख जिम्मेवारीमध्ये एक हो”, रानाभाटले भन्नुभयो, “उद्धार गरिएका वन्यजन्तुलाई आवश्यक उपचार तथा हेरचाहपछि सुरक्षित बासस्थानमा पुनःस्थापना गरिएको छ । यसले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।”

उहाँले वन्यजन्तु देखिएमा, घाइते अवस्थामा फेलापरेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । समयमै सूचना प्राप्त हुँदा उद्धारकार्य प्रभावकारी बन्ने र मानव तथा वन्यजन्तु दुवैको सुरक्षा सुनिश्चित गर्न सहज हुने उहाँको भनाइ छ ।

तनहुँ जिल्लामा पछिल्ला वर्षहरूमा चितुवा, चरीबाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढिरहेको छ । वन क्षेत्रको अतिक्रमण, बासस्थानमा आएको परिवर्तनका कारण वन्यजन्तु बस्ती क्षेत्रमा आउने गरेको उहाँको भनाइ छ । कार्यालयले वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, उद्धार तथा व्यवस्थापनका गतिविधिलाई निरन्तरता दिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.