काठमाडौँ,
विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको अडियो सार्वजनिक भएको थियो । यस विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिए लगत्तै आयोगले २४ स्पष्टीकरण सोधिएको एक सदस्यले जानकारी दिए ।

‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको प्रष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ’, रातोपाटीसँग आयोगका एक सदस्यले भने ।
पार्टी महामन्त्री विपिन कुमार आर्चायले यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको मंगलबार विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
सुनारमाथि सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि पार्टीले रोक लगाएको छ । रास्वपाका केन्द्रीय सदस्य पनि रहेका सुनार अडियो प्रकरणपछि कारबाहीका लागि चौतर्फी दबाब बढेको छ ।