सुचना, समाचार र मनोरन्जन

गाउँभरि सुचना दिने गीता

पोखरा, 
मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेटको युगमा पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको गाउँटोलमा भने सूचना प्रवाह गर्ने परम्परागत शैली रहेको छ । गाउँमा कुनै सभा, बैठक, सामाजिक काम, विपद् वा अन्य आवश्यक सूचना दिनुपरेमा गीता विकले ठूलो स्वरमा चिच्याएर गाउँभरि सुनाउँछिन् ।

३७ वर्षीया विकले एक वर्षदेखि गाउँमा ‘सूचना दिने’ काम गर्दै आएकी छन् । गाउँमा कुनै सूचना दिनुपरे उनी बस्ती भन्दा तथा बस्तीको बिचमा गएर सबैले सुन्ने गरी ठूलो स्वरमा सूचना सुनाउँछिन् । कटुवाल विकको आवाजले गाउँटोलबासीको ठाडो हुन्छ । उनको आवाज गुन्जिएपछि गाउँलेहरुले गाउँमा के नयाँ काम हुन थाल्यो भनेर कान थापेर सुन्छन् ।

उनको कामलाई गाउँटोलमा ‘पियुन’ भनेर बुझिन्छ । ‘एक ठाँउबाट मात्र बोल्दा नसुनिएला कि भनेर तीन ठाउँमा गएर बोल्छु,’ उनले भनिन् । सूचना दिनलाई साँझको समय उपयुक्त हुने उनको भनाइ छ । दिनभरि खेतबारी र मेलापातमा व्यस्त रहने गाउँलेहरु साँझ घर फर्किने भएकाले त्यही बेला सूचना सुनाउँदा सबैसम्म एकैपटक सन्देश पुग्ने उनी बताउँछिन् ।

विगतमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले काम गर्थे ।

यो काम गरेबापत वार्षिक १० हजार रुपैयाँ पारिश्रमिक पाउने उनले बताइन् । उनका अनुसार गाउँ सानो भएकाले यो पारिश्रमिक आफूलाई उचित नै लागेको छ । ‘काम पनि धेरै गाह्रो छैन, गाउँका सबैलाई सुनिने गरी सूचना भन्नुपर्छ,’ उनी भन्छिन् । बाध्यताले यो जिम्मेवारी सम्हाले पनि गाउँको आवश्यकता पूरा गरिरहेकोमा उनी सन्तुष्ट छिन् ।

बदलिँदो समयसँगै यो परम्पराको लोप हुने विकलाई चिन्ता छ । विकले भनिन्, ‘नयाँ पुस्तामा यस्तो काम गर्ने रुचि छैन ।’ यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परा कायमै रहँदा उनलाई सूचना दिन भ्याइनभ्याइ हुन्छ ।

गाउँमा केहि हुँदा फोन/मेसेज मार्फत सूचना पाए पनि पियुनले सुनाएपछि ढुक्क हुने स्थानीयको भनाइ छ । गाउँमा केहि हुँदा सबैलाई फोन गरिराख्नुभन्दा पिउन घोकाउँदा सजिलो हुने उनीहरुको भनाइ छ । सूचना र प्रविधिको युगमा धेरै स्रोत साधन भए पनि परम्परादेखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उनको तर्क छ ।

Leave A Reply

Your email address will not be published.