काठमाडौँ :
रसुवा र भोटेकोशी क्षेत्रका बाढीप्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले ५१ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ। पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले सरकारको ‘एकद्वार प्रणाली’ अन्तर्गत उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गरेको हो।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बसेको संस्थाको केन्द्रीय कमिटी बैठकले विभिन्न शाखा, पदाधिकारी तथा अगुवाहरूबाट राहत रकम संकलन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयबमोजिम संकलित रकमको चेक सच्चाई केन्द्र नेपालका प्रमुख प्रकाशदीप गैरे, महासचिव कमल थापा, कोषाध्यक्ष भीमबहादुर गुरुङ तथा केन्द्रीय सदस्यहरू मनसुबा गुरुङ, विजय घिमिरे, बुद्धिबहादुर परियार, राजु श्रेष्ठ र हिमाल घिमिरेले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
यसअघि बाढीलगत्तै तत्काल राहत स्वरूप सच्चाई केन्द्र नेपालका प्रमुख प्रकाशदीप गैरे र उपप्रमुख सुशीला कट्टेल गैरेका तर्फबाट व्यक्तिगत रूपमा १० लाख रुपैयाँ सहयोग गरिएको थियो।
विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व रहेको जनाउँदै सच्चाई केन्द्र नेपालले यसअघि पनि कोरोना महामारी, भूकम्प, बाढी तथा डुबानजस्ता विपद्मा निरन्तर मानवीय सहयोग प्रदान गर्दै आएको छ।