ढोरपाटन (बागलुङ),
वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ । कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।
बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर करिडोर सञ्चालनको पहल गरिएकामा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सञ्चालन हुने यातायात ठप्प भएका थिए भने मुक्तिनाथ जाने पर्यटक अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका प्रहरी नायब उपरीक्षक त्वातीले बताए। “निरन्तर वर्षा र बगिरहेको लेदोसहितको पहिरोका कारण सडक खुलाउन समय लाग्यो । लामो प्रयासपछि अहिले सडक खुलेको छ,” उनले भने, “सडक जोखिमपूण छ, यात्रा गर्दा सतर्कता अपनाएर यात्रा गर्न सवारी चालक तथा यात्रु सबैमा आग्रह गर्दछौँ ।”