पोखरा,
मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर ५ का रूपमा सहभागी भएकी पोखराकी सङ्गीता पौडेलले आफ्नो संघर्षपूर्ण यात्रालाई सफलताको उचाइमा पुर्याउन सम्पूर्ण पोखरेलीसँग साथ, समर्थन र शुभेच्छाको अपिल गरेकी छन्। साधारण परिवारबाट निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासका साथ अघि बढ्दै राष्ट्रिय सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित मञ्चसम्म आइपुगेको बताउँदै उनले आफ्नो यात्रा केवल व्यक्तिगत उपलब्धि नभई पोखराको प्रतिनिधित्व गर्ने अवसर भएको उल्लेख गरेकी छन्।

मनोविज्ञानमा स्नातक तथा अष्टाङ्ग योग प्रशिक्षक रहेकी सङ्गीता मानव सेवा, महिला सशक्तीकरण, पशु संरक्षण र वातावरण संरक्षणका क्षेत्रमा सक्रिय रूपमा संलग्न छिन्। उनले सञ्चालन गर्दै आएको “30+: A Second Chapter” अभियानमार्फत ३० वर्षभन्दा माथिका महिलाहरूलाई आत्मविश्वास अभिवृद्धि, नयाँ सीप विकास र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएकी छन्। समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य नै वास्तविक सुन्दरताको परिचायक भएको उनको विश्वास छ।
सङ्गीताले १६ वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगिताको यात्रा सुरु गरेकी थिइन्। त्यसयता उनले विभिन्न व्यक्तित्व विकास तालिम, सञ्चार तथा नेतृत्वसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आफूलाई निरन्तर परिष्कृत गर्दै आएकी छन्। वर्षौँको मेहनत, लगन र आत्मविश्वासकै परिणामस्वरूप आज मिस नेपालको राष्ट्रिय मञ्चमा उभिन सफल भएको उनले बताइन्।

उनले भनिन्, “पोखराको प्रतिनिधित्व गर्दै मिस नेपालको मञ्चमा उभिन पाउनु मेरा लागि अत्यन्त गर्वको क्षण हो। मेरो सपना मिस नेपालको उपाधि जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउनु हो। यो सपना पूरा गर्न पोखराबासी दाजुभाइ तथा दिदीबहिनीहरूको माया, विश्वास र साथ आवश्यक छ। मेरो जित केवल मेरो व्यक्तिगत सफलता होइन, सम्पूर्ण पोखरेलीको साझा गर्व हुनेछ।”

संघर्ष, समर्पण र सामाजिक उत्तरदायित्वलाई साथमा लिएर अघि बढेकी सङ्गीताको यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। मिस नेपाल २०२६ मा पोखराको प्रतिनिधित्व गरिरहेकी सङ्गीतालाई साथ र समर्थन गर्न उनले सम्पूर्ण पोखरेली तथा शुभेच्छुकहरूसँग आग्रह गरेकी छन्।