काठमाडौँ :
हिन्दु नारीहरूको महान् पर्व तीजको अवसर पारेर ‘तीज फेस्टिभल तथा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ आयोजना हुने भएको छ। शुभकामना मिडिया सोलुसन र आर्टिस्ट अफ नेपालको संयुक्त प्रस्तुतिमा आगामी भदौ २० र २१ गते यो कार्यक्रम हुन लागेको हो। विगत पाँच वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको यस अवार्डका लागि तीज सम्बन्धी गीत तथा सिर्जना दर्ता गर्न सार्वजनिक आह्वान गरिएको छ।
भदौ २० गते सांस्कृतिक महोत्सवका रूपमा ‘तीज फेस्टिभल’ आयोजना गरिनेछ। फेस्टिभलमा व्यावसायिक प्रवर्धनका लागि विभिन्न स्टलहरू राखिनुका साथै लोकप्रिय गायक-गायिकाहरूको सांगीतिक प्रस्तुति रहने आयोजक संस्थाकी अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन्। यस्तै, भदौ २१ गते गोंगबुस्थित बीजी ब्याङ्क्वेटमा मुख्य ‘अवार्ड समारोह’ सम्पन्न हुनेछ। अवार्ड कार्यक्रमसँगै चेलीबेटीहरूलाई दर खुवाउने कार्यक्रमसमेत राखिएको छ।
गीत समावेश गर्नका लागि लिंक https://service.aventoz.com/formBooking/68822cf4a375d1753361652
अवार्डमा सर्वोत्कृष्ट तीज दोहोरी गीतका गायक, गायिका, संगीतकार, रचनाकार, मोडल, निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, एरेन्जर, मिक्सिङ र श्रृंगारलगायत विभिन्न २२ विधाका स्रष्टा तथा सिर्जनालाई पुरस्कृत गरिनेछ। साथै, गीत-संगीत र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने दिदीबहिनीहरूलाई ‘नारीरत्न सम्मान’ प्रदान गरिने अध्यक्ष पोखरेलले बताइन्। “तीजको मर्म बोकेर सार्वजनिक भएका गीतका स्रष्टा र सिर्जनाले उचित सम्मान तथा प्रोत्साहन पाऊन् भन्ने उद्देश्यले यो अवार्डको थालनी गरेका हौँ,” पोखरेलले भनिन्।