पोखरा,
कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा तीन दिनदेखि सम्पर्कविहीन भएका तीनै जना युवालाई सोमबार बिहान सकुशल उद्धार गरिएको छ । सुरक्षाकर्मीको टोलीले पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २६ वर्षीय करण लामा, २४ वर्षीय अजित जिसी र २३ वर्षीय युकेश गुरुङलाई अन्नपूर्ण गाउँपालिका ११ को मोदी खोला किनारबाट उद्धार गरेको हो । यसअघि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरुङ भनिएका व्यक्ति दिपेश नभई करण लामा रहेको खुलेको छ ।
उद्धार टोलीले सोमबार बिहान १०स्२० बजे करण लामालाई सकुशल बाहिर निकालेको थियो । त्यसको केही समयपछि १०ः४० बजे अजित जिसी र युकेश गुरुङको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई मोदी खोलाको अप्ठ्यारो खोँचबाट सुरक्षाकर्मीले डोरी र फड्केको सहयोगमा वारी ल्याएका हुन् ।
गएको १९ साउनमा मर्दी हिमालतर्फ गएका उनीहरु बाटो बिराएर माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए । २० साउन बिहान ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरु त्यसपछि सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा आइतबार साँझ उनीहरु मोदी खोलाको पारिपट्टि फेला परे पनि खोलामा पानीको बहाव उच्च भएकाले रातभर उद्धार गर्न सकिएको थिएन ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाली सेनाको १७ जनाको संयुक्त टोली खटिएको थियो । वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा थप टोली सोमबार बिहानै घटनास्थल पुगेको थियो । सुरक्षाकर्मीले खोलाको पानीलाई एकातर्फ फर्काउने र अस्थायी काठे पुल ९फड्के० बनाएर जोखिमपूर्ण रुपमा युवाहरुलाई सुरक्षित स्थानमा ल्याएका हुन् ।
उद्धार गरिएका युवाहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ । ‘हामीले उनीहरुलाई सुरक्षित रुपमा फेला पारेर ल्याउन सफल भएका छौँ,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने । उनीहरुको आवश्यक स्वास्थ्य परीक्षण र अवस्थाको मूल्यांकनपछि परिवारको जिम्मा लगाउने तयारी गरिएको छ । पदयात्राका क्रममा जंगलमा बाटो भुलेर उनीहरु मोदी खोलाको किनारमा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
घटनास्थल वडा प्रहरी कार्यालय बगरबाट झण्डै ६९ किलोमिटर उत्तरमा पर्ने दुर्गम क्षेत्र हो । उद्धार कार्यमा स्थानीय होटल व्यवसायी प्रेम अधिकारीसहितको टोली, घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल र सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोलीले महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रशासनले वर्षाको समयमा पदयात्रा गर्दा बाटो र मौसमको पूर्ण जानकारी लिएर मात्र यात्रा तय गर्न सबैमा आग्रह गरेको छ । बेपत्ता भएका युवाहरुको खोजी र उद्धारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने स्थानीय बासिन्दा र सुरक्षा निकायप्रति सम्बन्धित पक्षले आभार व्यक्त गरेका छन् । उनीहरुलाई पोखरा ल्याएर आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।