जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको एक ड्रोन फेला परेपछि त्यसलाई सुरक्षा निकायले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
घटनालगत्तै जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यस घटनालाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ (न्यू लेभल अफ डेन्जर) को चुनौतीका रूपमा वर्णन गर्नुभएको छ।
मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका रूपमा रहेको उक्त विमानस्थलका दुवै रनवे तत्कालका लागि बन्द गरिएका थिए। त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही नियमित उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए।
दक्षिणी रनवे नजिक शंकास्पद वस्तु रहेको सूचना प्राप्त हुनासाथ विस्फोटक पदार्थ निष्क्रिय पार्ने विशेष रोबोट परिचालन गरिएको थियो।
क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक सजग कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला पारेका थिए।
सूचना पाएलगत्तै सुरक्षा निकायले ड्रोन नियन्त्रणमा लिएर त्यसमा जडान गरिएको डेटोनेटर हटाई सुरक्षित रूपमा निष्क्रिय पारेको थियो। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।
घटनास्थल पुग्न आफ्नो पूर्वधारित बिदा नै स्थगित गरेका गृहमन्त्री डोब्रिन्डले विमानस्थल परिसरभित्रै विस्फोटक बोकेको ड्रोन भेटिनु विगतका सामान्य ड्रोन घुसपैठभन्दा फरक प्रकृतिको सुरक्षा जोखिम भएको बताए।
उनका अनुसार आकाशमा ड्रोनबाट उत्पन्न हुन सक्ने खतरा पहिलेदेखि नै परिचित भए तापनि विस्फोटकसहित विमानस्थलभित्रै प्रवेश गर्नु सुरक्षा चुनौतीको नयाँ र गम्भीर स्वरूप हो।
गृहमन्त्री डोब्रिन्डले यस घटनालाई ‘हाइब्रिड आक्रमणको परिदृश्य’ (हाइब्रिड थ्रेट) का रूपमा उल्लेख गरेका छन्। यद्यपि यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन।
ड्रोनको उत्पत्ति, प्रयोग गरिएको विस्फोटकको प्रकृति तथा यसमा सम्भावित संलग्न व्यक्तिबारे गहन अनुसन्धान भइरहेकाले अहिले नै कुनै अन्तिम निष्कर्षमा पुग्न नसकिने उहाँले स्पष्ट पार्नुभयो।
यसैबीच, स्याक्सोनी राज्यका गृहमन्त्री आर्मिन सुस्टरले सुरक्षा निकायहरूले घटनास्थल आसपास सम्भावित दोस्रो ड्रोनका अवशेष वा भागहरूको तीव्र खोजी गरिरहेको जानकारी दिए।
उता, रनवे बन्द भएपछि अवतरण गर्न नसकेको एउटा मालवाहक विमान (कार्गो) आकाशमै अर्को शङ्कास्पद उड्ने वस्तुसँग ठोक्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
उक्त विमानलाई पछि करिब २०० किलोमिटर टाढा रहेको हनोभर विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो। त्यहाँ प्राविधिक निरीक्षणका क्रममा विमानमा सामान्य क्षति मात्र पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।
लाइपजिग/हाले विमानस्थलको उत्तरी रनवे करिब दुई घण्टाको अवरोधपछि पुनः सञ्चालनमा ल्याइएको थियो भने दक्षिणी रनवे पूर्वनिर्धारित मर्मत कार्यका कारण बुधबार पनि बन्द रहने तय गरिएको थियो।
यस घटनाबाट यात्रु वा विमानस्थलका कर्मचारीको सुरक्षामा कुनै प्रत्यक्ष क्षति नपुगेको र नियमित उडान सञ्चालनमा उल्लेखनीय अवरोध नआएको अधिकारीहरूले जनाएका छन्।
घटनास्थलबाट सार्वजनिक भएका तस्बिरहरूमा युक्रेनी एन्टोनोभ विमान नजिकै विस्फोटक निष्क्रिय पार्ने रोबोटसहित सुरक्षा प्राविधिकहरू परिचालित भएको दृश्य देखिएको छ। लाइपजिग/हाले विमानस्थल युरोपकै प्रमुख कार्गो केन्द्रहरूमध्ये एक मानिन्छ र यहाँ युक्रेनी एन्टोनोभका ठूला मालवाहक विमानहरूको नियमित आवागमन हुने गर्दछ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले पनि यस घटनाबारे आफूलाई पूर्ण जानकारी प्राप्त भएको जनाएको छ। नाटोले थप विस्तृत विवरण र तथ्यका लागि जर्मन अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको बताएको छ।
यसअघि सन् २०२४ मा पनि यही विमानस्थलको लजिस्टिक केन्द्रमा आगो लगाउने उपकरण प्रयोग गरिएको अर्को घटना भएको थियो। त्यतिबेला पश्चिमी सुरक्षा अधिकारीहरूले उक्त तोडफोडको घटनालाई रुसी गुप्तचर निकायसँग जोडिएको सम्भावित अभियानको हिस्सा हुन सक्ने आशंका व्यक्त गरेका थिए।
पश्चिमी मुलुकहरूले रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता युरोपभर यस्ता अनेकौँ तोडफोड, आक्रमण तथा सुरक्षा चुनौती सिर्जना गर्ने गतिविधिहरू सञ्चालन गरिरहेको आरोप लगाउँदै आएका छन्।