काठमाडौँ :
लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन्। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन्। अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। गीतको भिडियोको छायांकनसमेत सम्पन्न भइसकेको निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन्।
गत बुधबार जर्सिङ पौवामा छायांकन गरिएको गीतको भिडियो फिल्मीकै कथाअनुसार गाउँमा भइरहेको सेलिब्रेशनको दृश्यमा समावेश गरिएको छ। भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत कलाकार फिचर्ड छन्। भिडियोमा गायक अर्जुन सापकोटाले पनि नृत्य गरेका छन्। उनीसँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन्। निर्देशक अगरवालका अनुसार फिल्मीको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार शिर्षगीत यहि साताको अन्तिमतिर सार्वजनिक गर्ने तयारी भइरहेको छ।
फिल्मीमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ। फिल्मीको डीओपी सुदिप बराल हुन्। पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको ‘ककाकिकी’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।