सुचना, समाचार र मनोरन्जन

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

 

काठमाडौं : आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची-नागोया क्षेत्रमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्यानोइङ टोली पोखरामा तीव्र प्रशिक्षणमा जुटेको छ।

 

एसियाली महादेशकै सबैभन्दा ठूलो यस खेल महोत्सवमा क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले नेपालको तर्फबाट बलियो उपस्थिति जनाउँदै छन्।

 

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको नेतृत्वमा दुवै खेलाडी विगत एक महिनादेखि पोखराको फेवातालमा निरन्तर अभ्यासमा व्यस्त छन्। प्रतियोगितामा विजय र आशिषले ‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक मगरका अनुसार खेलाडीहरूको प्राविधिक दक्षता, शारीरिक फिटनेसका साथै वैदेशिक प्रतिस्पर्धाका लागि मानसिक तयारीमा विशेष ध्यान दिइएको छ।

 

Chaka Panja

नेपाली टोलीका सदस्य विजय माझी लामो समय तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा कार्यरत थिए। तमोरको तीव्र बहाव र जोखिमपूर्ण परिस्थितिमा हासिल गरेको व्यावहारिक अनुभव नै उनका लागि एसियाडसम्मको यात्रा तय गर्ने बलियो आधार बनेको छ।

 

“पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने क्रममा नदीसँग साटेको अनुभवले अहिले क्यानोइङ खेलमा निकै मद्दत पुर्‍याएको छ,” विजयले भने, “भोलि अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्ने लक्ष्यका साथ प्रशिक्षण गरिरहेको छु।”

 

प्रशिक्षक मगरले फेवाताल तथा आसपासका क्षेत्र क्यानोइङका लागि प्राकृतिक र उत्कृष्ट प्रशिक्षणस्थल बनेको बताए। नेपालका नदी तथा तालहरू पर्यटनका दृष्टिले मात्र नभई अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक केन्द्र बन्न सक्ने उनको भनाइ छ।

 

जापानमा हुने यसपटकको एसियाली खेलकुदमा नेपालले क्यानोइङसहित कुल २२ वटा खेलमा सहभागिता जनाउँदै छ। वर्षौंको मेहनत र संघर्षलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसरका रूपमा खेलाडीहरूले यस प्रतियोगितालाई लिएका छन्।

Leave A Reply

Your email address will not be published.