पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि युवा व्यवसायी अर्जुन पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै संघको नेतृत्वमा आएर उद्योगी तथा व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको प्रवर्द्धन र पोखराको आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरेल पोखरा उद्योग वाणिज्य संघका पूर्व महासचिवसमेत हुन्। लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले संघको नेतृत्वमार्फत उद्योगी–व्यवसायीका हकहितका विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
पोखरेलको उम्मेदवारी घोषणासँगै पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदका आकांक्षीहरूबीचको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। संघको आगामी नेतृत्वका लागि विभिन्न व्यवसायीहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।