पोखरा,
देशमा उत्पन्न विपद्को वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज (GMC), पोखराले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
गण्डकी मेडिकल कलेजका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतमार्फत उक्त रकम अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
कलेजले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोगसँगै बाढी तथा विपद् प्रभावित क्षेत्रमा आवश्यक औषधिसमेत पठाउँदै आएको जनाएको छ।
यसैबीच, बाढीबाट प्रभावित नागरिकको निःशुल्क उपचारका लागि गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको व्यवस्था गरिएको कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार विपद्का कारण प्रभावित तथा उपचार आवश्यक परेका नागरिकलाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो।
गण्डकी मेडिकल कलेजले विपद्को समयमा राहत, औषधि तथा स्वास्थ्य सेवामार्फत मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।