सुचना, समाचार र मनोरन्जन

‘अनुभवलाई परिणाममा बदल्न’: पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बलराम आचार्य मैदानमा

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा कार्यसमिति सदस्यदेखि कोषाध्यक्ष, महासचिव र वाणिज्य उपाध्यक्षसम्मको भूमिका सफलतापूर्वक सम्हालिसकेका अनुभवी व्यवसायी बलराम आचार्य अब संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनका लागि उनले ‘व्यवसायिक ऐक्यबद्धता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उम्मेदवारी घोषणा गरेका हुन्। पोखरा–१ बगरस्थित ‘नव आचार्य फेन्सी स्टोर्स’का प्रोप्राइटर आचार्य लामो समयदेखि स्थानीय व्यवसायमा सक्रिय रहँदै आएका छन्। व्यवसाय सञ्चालनका व्यावहारिक चुनौती, नीतिगत जटिलता र बढ्दो लागतलाई नजिकबाट भोगेका उनी संघलाई केवल समस्या सुन्ने मात्र नभई समाधानका लागि सम्बन्धित निकायसँग सशक्त पहल गर्ने भरोसायोग्य संस्था बनाउने अठोट व्यक्त गर्छन्।

आचार्यको अध्यक्ष पदको यात्रा एक्कासि नभई संघभित्र विभिन्न तहमा हासिल गरेको लामो संस्थागत अनुभवको निरन्तरता हो। कार्यसमिति सदस्यबाट सुरु भएको उनको यात्रा कोषाध्यक्ष र महासचिव हुँदै हाल वाणिज्य उपाध्यक्षको जिम्मेवारीसम्म आइपुगेको छ। व्यवसायका साथै वित्तीय एवं सामाजिक क्षेत्रमा समेत उनको बलियो उपस्थिति छ। उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखरा र बगर कल्याणकारी व्यवसायी समितिका सल्लाहकार, परेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा आचार्य सेवा समाज (कौडिण्य गोत्र) नेपालका अध्यक्ष हुन्। यसका साथै लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटीका पूर्वअध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्यका रूपमा पनि उनी सक्रिय रहँदै आएका छन्।

‘पदहरू बदलिँदै गए, तर व्यवसायीप्रतिको जिम्मेवारी र निष्ठा कहिल्यै बदलिएको छैन’ भन्ने मान्यता राख्ने आचार्यले साना, मझौला, ठूला तथा नयाँ पुस्ताका उद्यमीहरूलाई एउटै साझा मञ्चमा गोलबद्ध गर्ने लक्ष्य लिएका छन्। संघको आन्तरिक संरचना र निजी क्षेत्रका समस्यालाई गहिरोसँग बुझेकाले आफ्नो लामो अनुभवलाई व्यवसायीको हितमा ठोस नतिजामा बदल्ने उनको मुख्य एजेन्डा छ। बजारका चुनौती र नीतिगत कठिनाइहरूविरुद्ध निजी क्षेत्रको बलियो प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले कार्यसमिति सदस्यबाट सुरु भएको आफ्नो यात्रालाई अध्यक्षको जिम्मेवारीसम्म पुर्‍याउन पोखराका सम्पूर्ण उद्योगी–व्यवसायीहरूसँग अमूल्य मत, विश्वास र साथको अपिल गरेका छन्।

Leave A Reply

Your email address will not be published.