सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघ महाधिवेशन: कार्यसमिति सदस्यमा कमल बहादुर सुनारको उम्मेदवारी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत आगामी भदौ २० र २१ गते हुने निर्वाचनमा कमल बहादुर सुनारले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्। ‘तपाईंको विश्वास, मेरो जिम्मेवारी—व्यवसायीको हितमा मेरो उम्मेदवारी’ भन्ने मूल नाराका साथ उनी चुनावी मैदानमा होमिएका हुन्।

व्यावसायिक हकहितको संरक्षण, संस्थागत सुदृढीकरण र समृद्ध व्यावसायिक वातावरण निर्माणलाई मुख्य एजेन्डा बनाएका सुनार पोखरा–९ चिप्लेढुंगास्थित ‘जय भू.पू. सैनिक सुनचाँदी उद्योग’का सञ्चालक हुन्। लामो समयदेखि व्यवसायका साथै विभिन्न सामाजिक एवं व्यावसायिक संघ-संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएका उनीसँग समृद्ध सांगठनिक अनुभव छ।

नेतृत्व अनुभव तथा आबद्धता

  • व्यावसायिक नेतृत्व: सुनचाँदी व्यवसायी संघ कास्कीका पूर्व महासचिव

  • सामाजिक एवं संस्थागत भूमिका: मन खुशी फाउन्डेसन गण्डकीका उपाध्यक्ष, सिटी वन टेलिभिजनका कार्यसमिति सदस्य तथा लायन्स क्लब भद्रकालीका पूर्व कोषाध्यक्ष

  • शैक्षिक तथा युवा क्षेत्र: सिमला आधारभूत विद्यालयका पूर्वअध्यक्ष, रतन पाण्डे युवा क्लबका पूर्वअध्यक्ष र सुनौलो युवा उद्यमीका संरक्षक

आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि नभई व्यवसायीको विश्वासलाई जिम्मेवारीमा बदल्ने अवसर भएको सुनार बताउँछन्। पोखरा उद्योग वाणिज्य संघलाई ठूला र स्थापित व्यवसायीका साथै साना, मझौला, स्वरोजगार तथा नयाँ पुस्ताका उद्यमीहरूको पनि साझा एवं प्रभावकारी थलो बनाउने उनको प्रतिबद्धता छ।

व्यावहारिक अनुभव र सामाजिक दायित्वलाई आत्मसात् गर्दै अघि बढेका सुनारले आफ्ना दैनिक समस्या, नीतिगत जटिलता र बजारका चुनौती समाधानमा संघमार्फत सशक्त पहल गर्ने बताउँदै सम्पूर्ण उद्योगी-व्यवसायीहरूसँग अमूल्य मतको अपिल गरेका छन्।

Leave A Reply

Your email address will not be published.