पोखरा,
पोखराको उद्योग-व्यवसाय र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय टिकाराम सुवेदीले आफ्नो व्यावसायिक अनुभव, सांगठनिक दक्षता र सामाजिक योगदानलाई आधार बनाउँदै पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशनमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन्। उत्पादन, व्यापार र व्यवसायीका दैनिक व्यावहारिक चुनौतीहरूलाई नजिकबाट भोगेका सुवेदी उद्योग सञ्चालनको प्रत्यक्ष अनुभव भएका र निजी क्षेत्रका समस्या राम्रोसँग बुझेका व्यवसायीका रूपमा परिचित छन्। व्यवसायलाई केवल नाफा-नोक्सानमा सीमित नराखी रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमानता र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने स्पष्ट दृष्टिकोण उनले राख्दै आएका छन्।
पोखरा उद्योग वाणिज्य संघका पूर्वकार्यसमिति सदस्य समेत रहेका सुवेदीसँग संघभित्र रहेर व्यवसायीका समस्यालाई संस्थागत रूपमा उठाउने र निजी क्षेत्रको आवाजलाई बलियो बनाउने लामो अनुभव छ। थोक व्यवसायी संघ (वस्तुगत) मा रहेर उत्कृष्ट कार्य सम्पादन गरेबापत पोखरा उद्योग वाणिज्य संघबाट सम्मानित भइसकेका सुवेदीले संघद्वारा आयोजित मेला-महोत्सवहरूलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। विशेषगरी महोत्सव सञ्चालनका क्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरूबाट रकम संकलन तथा व्यवस्थापनमा उनले पुर्याएको योगदानलाई संघभित्र उच्च मूल्याङ्कन गरिन्छ।
बजारको बढ्दो सञ्चालन खर्च, तीव्र प्रतिस्पर्धा र नीतिगत जटिलताहरू समाधानका लागि व्यवसायीहरूबीच बलियो सहकार्य हुनुपर्ने सुवेदीको ठम्याइ छ। संघलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवसायीलाई अप्ठ्यारो पर्दा अभिभावकका रूपमा अगाडि उभिने र सम्बन्धित निकायसँग प्रभावकारी पैरवी गर्ने साझा संस्थाका रूपमा विकास गर्ने सोच उनले अघि सारेका छन्। लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटीलगायत विभिन्न सामाजिक संघ-संस्थाहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका सुवेदीले ‘प्रस्तावित पद प्रतिष्ठाका लागि नभई परिणामका लागि हो’ भन्ने अठोट व्यक्त गर्दै सम्पूर्ण उद्योगी-व्यवसायीहरूसँग साथ र सहयोगको अपिल गरेका छन्।