कास्की,
पहिरो खसेर थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाब खुलेको छ। रातभर थुनिएको खोला बिहानदेखि साविककै अवस्थामा बग्न थालेपछि तत्कालका लागि जोखिम टरेको छ।
मंगलबार राति करिब ८ बजेतिर पहिरो खसेपछि किम्रुङ खोला थुनिएको थियो। खोला थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै किम्रुङ तथा मोदीखोला आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको थियो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यराति करिब १२ बजेदेखि पहिरोले थुनेको स्थानको एक छेउबाट पानी विस्तारै बग्न थालेको थियो। त्यसपछि पानीको बहाब क्रमशः बढ्दै गएर बिहानसम्म खोला साविककै अवस्थामा आएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले पनि स्थानीयसँग सम्पर्क गर्दा खोलाको बहाब खुलिसकेको र अहिले साविककै अवस्थामा बगिरहेको जानकारी आएको बताएका छन्। उनका अनुसार खोला खुलेसँगै हाललाई जोखिम टरेको छ।
खोला थुनिएको सूचना पाएपछि सुरक्षाकर्मीको टोली पनि बिहानै पहिरो खसेको स्थानतर्फ गएको थियो। यसअघि पनि किम्रुङ खोलामा पहिरो खस्दा खोला थुनिएर अचानक बाढी आउने जोखिम देखिएको थियो।
किम्रुङ खोला अन्नपूर्ण गाउँपालिका–११ हुँदै मोदी खोलामा मिसिन्छ। त्यसैले किम्रुङमा आउने परिवर्तनले तल्लो तटीय क्षेत्रका बस्तीमा समेत जोखिम निम्त्याउन सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको थियो।
हाल खोलाको बहाब सामान्य अवस्थामा फर्किए पनि वर्षायाममा पहिरो तथा पुनः खोला थुनिन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।