पोखरा,
‘कनेक्ट, क्रियट, कोलब्रेसन’ भन्ने उद्देश्यसहित पोखरामा राइट टु प्रोटिन रन-२०२६ का लागि क्रियटर मीट आयोजना गरिएको छ। पोखरामा पहिलोपटक हुन लागेको प्रतियोगितालाई प्रभावकारी बनाउन कन्टेन्ट क्रियटरले पुर्याएको योगदानको प्रशंसा गर्दै थप प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरिएको हो।
राइट टु प्रोटिन रनका पोखरा व्यवस्थापक अशेष भट्टराईले मानव शरिरमा प्रोटिनको आवस्यकताको बारेमा जानकारी गराउदै उमेर अनुसार तौल, उचाइ बढाउन तथा स्वास्थ र तन्दुरुस्थ शरिरको लागि प्रोटिनको महत्वका बारेमा जानकारी गराएका थिए ।

नेपाल दाना उद्योग संघको आयोजनामा पाँचौं राइट टु प्रोटिन रन-२०२६, (Powered by USSEC and US SOY) आगामी असोज ३ गते (सेप्टेम्बर १९) पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुँदैछ।
प्रोटिनयुक्त आहारको महत्व र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुने प्रतियोगितामा ४ हजारभन्दा बढी धावक-धाविकाको सहभागिता रहने आयोजकको अपेक्षा छ। प्रतियोगितामा २१ किलोमिटर हाफ म्याराथनसहित १० किलोमिटर खुला पुरुष, ५ किलोमिटर खुला महिला, विद्यालयतर्फ विभिन्न दूरी तथा पुरुष-महिला ह्विलचेयर दौड समावेश छन्।

दौड बिहान ६ बजेदेखि सुरु हुनेछ। हाफ म्याराथनका महिला तथा पुरुष विजेताले जनही १ लाख ५० हजार रुपैयाँसम्म पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य मार्ग बसुन्धरा पार्क–हलनचोक–सेदी-पामे हुँदै लौरुकसम्म पुगेर पुनः बसुन्धरा पार्कमै समापन हुनेछ।
आयोजकले स्वास्थ्य, पोषण र सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने अभियानमा धावक, परिवार, संघसंस्था तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।