पोखरा,
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले भोटेकोशी क्षेत्रका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको वाडाले जनाएको छ ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष कोइरालाले विपत्तिको समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको बताए । उनले अटोमोबाइल व्यवसायीहरू सामाजिक उत्तरदायित्व निर्वाहमा सधैँ अग्रसर रहने बताए ।
यसअघि भदौ १९ गते बसेको वाडाको बैठकले बाढीपीडितका लागि सदस्यहरूबाट स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । वाडाका कोषाध्यक्ष अशोक चालिसेका अनुसार व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा सहयोग रकम जुटाएका हुन् ।
सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले विपत्तिको समयमा अटोमोबाइल व्यवसायीहरूले देखाएको मानवीय सहयोगको प्रशंसा गरे । उनले प्राप्त रकम यथाशीघ्र सम्बन्धित कोषमा पठाइने जानकारी दिए ।
वाडाले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोगलाई निरन्तरता दिने जनाएको छ ।