पोखरा,
फोहोरलाई समस्याका रूपमा मात्र नभई रोजगारी, उद्यमशीलता, वातावरण संरक्षण र सहरी विकासको सम्भावनाका रूपमा अघि बढाउँदै आएका टिकराम पौडेलले नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
करिब डेढ दशकदेखि फोहोर व्यवस्थापन तथा वातावरणीय क्षेत्रमा सक्रिय पौडेलले आफ्नो व्यावसायिक, सामाजिक र अन्तर्राष्ट्रिय अनुभवलाई पार्टी संगठनको नेतृत्वसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेका हुन्।
वडा तहमा पाँच वर्ष काम गरेको अनुभवलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिँदै पौडेलले बलियो कांग्रेस निर्माणका लागि तल्लो तहदेखि नै संगठनलाई व्यवस्थित, सक्रिय र जनतासँग जोड्नुपर्ने बताएका छन्।
उनले आफ्नो नेतृत्वको अवधारणालाई ‘एकताबद्ध कांग्रेस, व्यवस्थित संगठन, सक्रिय वडा, सक्षम नेतृत्व र जनतासँग जोडिएको पार्टी’ गरी पाँच आधारमा केन्द्रित गरेका छन्।
फोहोर व्यवस्थापनदेखि नेतृत्वसम्म
पौडेल सन् २०१० देखि पोखरा वेस्ट म्यानेजमेन्ट प्रालिका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। सन् २०१५ देखि वेस्ट सर्भिस प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत र सन् २०२४ देखि वेस्ट म्यानेजमेन्ट एन्ड कन्सल्टिङ सर्भिस प्रालिका कार्यकारी अध्यक्षका रूपमा समेत काम गर्दै आएका छन्।
फोहोर व्यवस्थापनलाई फोहोर उठाउने र विसर्जन गर्ने काममा मात्र सीमित नगरी रोजगारी सिर्जना, जनस्वास्थ्य, वातावरण संरक्षण र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने उनको धारणा छ।
उनले ५० जनाभन्दा बढीको टोली व्यवस्थापन गर्नुका साथै नयाँ उद्यमीलाई मार्गदर्शन र फोहोर व्यवस्थापनसम्बन्धी विभिन्न तालिममा प्रशिक्षकका रूपमा समेत काम गरेका छन्।
अस्पतालजन्य फोहोर व्यवस्थापनमा पनि अनुभव
पौडेलको अनुभव सहरी फोहोर व्यवस्थापनमा मात्र सीमित छैन। अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरको सुरक्षित व्यवस्थापनका क्षेत्रमा समेत उनले काम गरेका छन्।
उनको व्यावसायिक विवरणअनुसार नेपाल सरकारका विभिन्न निकायसँगै जिआइजेड, यूएनडिपी, डब्लुएचओ, एफएचआई ३६० र एसएनभी नेपालसँग सम्बन्धित परियोजनामा प्राविधिक तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

अस्पतालजन्य फोहोर व्यवस्थापनको अध्ययन, मापदण्ड कार्यान्वयन, तालिम, संस्थागत क्षमता विकास तथा प्राविधिक मूल्यांकनमा काम गरेको अनुभवलाई उनले स्थानीय सरकार र सार्वजनिक–निजी साझेदारीका क्षेत्रमा समेत प्रयोग गर्दै आएका छन्।
संयुक्त राष्ट्रसंघको मञ्चसम्मको अनुभव
पौडेलले अमेरिका, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र संयुक्त अरब इमिरेट्सलगायत देशमा तालिम, सम्मेलन, फेलोसिप तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागिता जनाएका छन्।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन फोरममा वक्ताका रूपमा समेत सहभागी भएको उनको विवरणमा उल्लेख छ।
त्यसैगरी, टेडएक्स डीडब्लुआइटी कलेजमा ‘उद्यमशीलता र फोहोर व्यवस्थापन’ तथा टेकक्याम्प पुणेमा ‘दिगो सहरी फोहोर व्यवस्थापनको पुनःसंरचना’ विषयमा आफ्नो अनुभव प्रस्तुत गरेका पौडेलले एक सयभन्दा बढी राष्ट्रियस्तरका तालिम तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको बताएका छन्।
अर्थशास्त्रमा स्नातकोत्तर पौडेल अध्यापनमा समेत संलग्न छन्।
‘पदभन्दा प्रणालीमा जोड’
उद्यम व्यवस्थापनमा हासिल गरेको अनुभवलाई पार्टी संगठनमा प्रयोग गर्ने पौडेलको योजना छ। उनले पदभन्दा प्रणाली, व्यक्तिभन्दा संगठन र नाराभन्दा कार्यान्वयनलाई प्राथमिकता दिने बताएका छन्।
महानगर नेतृत्वमा पुगे वडा समितिलाई थप सक्रिय बनाउने, वडा र महानगरबीच नियमित समन्वय स्थापित गर्ने, कार्यकर्ताका सुझाव तथा गुनासो सुन्ने संयन्त्र विकास गर्ने र युवा तथा नयाँ पुस्तालाई पार्टी गतिविधिमा अर्थपूर्ण रूपमा जोड्ने उनको प्रस्ताव छ।
पोखराको विकास, वातावरण, पर्यटन, रोजगारी, उद्यमशीलता र सहरी व्यवस्थापनका विषयलाई पार्टीको नियमित बहससँग जोड्नुपर्ने उनको धारणा छ।
पौडेलले पार्टी निर्वाचनका बेला मात्र जनतासँग जोडिने नभई हरेक दिन जनताका समस्या र सरोकारसँग जोडिनुपर्ने बताएका छन्।
पोखरा महानगरका अधिकांश वडामा कांग्रेसको नेतृत्व चयन प्रक्रिया अघि बढिसकेको अवस्थामा महानगर सभापतिका आकांक्षीहरूको गतिविधि पनि बढ्न थालेको छ। यही क्रममा फोहोर व्यवस्थापन र हरित उद्यमशीलताको क्षेत्रमा लामो अनुभव भएका पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।