कास्की,
मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यस सडक गत साउन २८ गतेदेखि अवरुद्ध भएको थियो । सडकको सोमबार साँझ प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रुपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनका समयमा मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण सडकको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बस्तीहरू सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएका थिए ।

अन्नपूर्ण –८ स्थित बिरेठाँटी एबिसी र पुनहिल तथा घोडेपानीको प्रवेशद्वार हो । बिरेठाँटीमा मोदी खोलाको कटानले १०० मिटर पक्की सडक बगाएको थियो भने बिरेठाँटी बजार समेत जोखिममा परेकको थियो ।
“मोदीको बाढीले बिरेठाँटीलगायतका क्षेत्रमा सडक कटान गर्दा ग्रामीण पर्यटनको केन्द्रका रुपमा स्थापित घान्द्रुक सडक सम्पर्कबाट विच्छेद भएको थियो । यसबाट विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर९एबिसी० जाने पर्यटक समेत समस्यामा परेका थिए भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको थियो । अहिले पर्यटकीय मौसम सुरु हुन लागेको अवस्थामा सडकसमेत खुलेको छ ।” अध्यक्ष केसीले भन्नुभयो ।
अवरुद्ध सडक पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनी, सम्बन्धित निकाय तथा निर्माण व्यवसायी र प्राविधिक टोली परिचालन गरिएको थियो । बाढीले बगाएको स्थानमा ग्याविन जाली भर्ने, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालन योग्य बनाइएको अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सडक खुलेसँगै स्थानीयमा खुसी छाएको छ ।
“लामो समय सडक अवरुद्ध हुँदा घान्द्रुकको जनजीवन प्रभावित बनेको थियो । पर्यटकीय क्षेत्रहरु सुनसान बनेका थिए । अब घान्द्रुक तथा एबिसी आउने बाटो खुल्यो । स्थानीय बासिन्दा, पर्यटक, व्यवसायी तथा सर्वसाधारणलाई आवागमनमा सहज भयो ।” वडाध्यक्ष गुरुङले भन्नुभयो ।
गाउँपालिकाले वर्षायाम अझै बाँकी रहेकाले सडक खण्डका विभिन्न स्थानमा वर्षा तथा पहिरोका कारण पुनः अवरोध आउन सक्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।